कीवर्डहरू -

फ्युजमेसिनको एआई फेलोशिपमा मंगलबारसम्म आवेदन दिन सकिने, यसरी दिनुहोस् आवेदन 

सीपसँगै रोजगारीको अवसर

फ्युजमेसिनको एआई फेलोशिपमा मंगलबारसम्म आवेदन दिन सकिने, यसरी दिनुहोस् आवेदन 

फ्युजमेसिनको एआई फेलोशिपमा भोलि मंगलबारसम्म आवेदन दिन सकिने छ । एआईको क्षेत्रमा काम गर्दै आएको फ्युजमेसिनले केही दिन अगाडि नेपालमा ‘एआई फेलोशिप २०२२’ घोषणा गरेको थियो ।

फ्युजमेसिनले एआई शिक्षा र एआई रोजगार दिने लक्ष्य राखेको छ । उक्त कार्यक्रम अन्तर्गत फ्युजमेसिनले नेपालमा एआई फेलोशिप २०२२ को घोषणा पनि गरेको छ ।

अनलाइनबाट हुने फेलोशिप कार्यक्रम विगत २ वर्ष देखि फ्युजमेसिनको पहलमा नेपालमा विकास र विस्तार गरिएको हो । विगत २ वर्ष देखि नै यस कार्यक्रममा यूकेएड स्कील्स फर इम्प्लोइमेन्ट (सीप) को सहयोग रहदै आएको छ ।

यस कार्यक्रमको मुख्य अभिप्राय क्षमता अभिवृद्धि हो । यस कार्यक्रमको मुख्य उद्देश्य नेपालमा एआई इन्जीनियरहरूको संख्यामा वृद्धि गर्नु हो र यस कार्यक्रममा जम्मा १०० जना गणित, ईन्जिनियरिङ र कम्प्युटर विज्ञान पृष्ठभूमि भएका विश्वविद्यालय अध्यनरत विद्यार्थीहरू तथा  स्नातक उतीणर्हरूलाई परीक्षा मार्फत आवद्ध गरिनेछ ।

छनोट भएकालाई सम्पूर्ण पाठ्यक्रमहरूमा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । अमेरिकाका टप विश्वविद्यालयमा रहेका एआई संकायका सदस्यहरू र एआई उद्योग विशेषज्ञहरुद्वारा निर्माण गरिएको फ्युजमेसिनको स्वामित्वमा रहेको माइक्रोडिग्री र माइक्रोडिग्री स्पेशलाइजेशन कार्यक्रमलाई एआई फेलोशिप २०२२ मा समावेश गरिने कम्पनीले जनाएको छ ।

एक वर्ष लामो कार्यक्रममा मेसिन लर्निङ, डिप लर्निङ्ग, न्याचुरल ल्यांग्वेज प्रोसेसिङ्ग र कम्प्युटर भिजनको लगायतको बारेमा सिकाईने छ । हरेक बर्ष सबैका लागि विश्वसनीय र उच्च गुणस्तरको एआई तालिम प्रदान गरि एआईमा पहुँच बढाउने बाटोमा अगाडि बढेको फ्युजमेसिनका प्रमुख कार्यकारी अधिकृत समीर मास्केले बताए ।

उनले फेलोशिप कार्यक्रमका पुर्व विद्यार्थीहरूलाई रोजगारी प्रदान गरेको र यस किसिमको महत्वपूर्ण पहलको निरन्तरता मार्फत अझ उच्च गुणस्तरको प्रतिभा निर्माण गर्न सक्षम हुने आशा व्यक्त गरे ।

कार्यक्रमको अन्त्यसम्ममा विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ  र डीप लर्निङ एल्गोरिदमका साथै अन्तर्निहित गणित र कोडको ठोस बुझाइको विकास गर्नेछन् ।

कार्यक्रमले सम्मानित शिक्षाविद् र उद्योग विशेषज्ञहरूद्वारा संचालित साप्ताहिक अनलाइन कक्षाहरू, प्रोग्रामिङ असाइनमेन्टहरू, समूह परियोजनाहरू र परीक्षाहरू समावेश गरी मिश्रित सिकाइ प्रणालीको प्रयोग गर्नेछ । साथै धेरै जसो सामग्रीहरू विद्यार्थीहरूले आफ्नो अनुकुल प्रयोग गर्नका लागि अनलाइन उपलब्ध हुनेछन् ।

फ्युजमेसिनले सन् २०१७ मा पहिलो पटक एआई फेलोशिप कार्यक्रमको सुरुवात गरेको थियो । आर्टिफिसियल इन्टेलीजेन्स (ए.आई.) लगायत आफ्ना अन्य सेवाहरुको माध्यमबाट उद्यम ब्यबसाय क्षेत्रमा उपलब्धी भित्र्याउनमा नाम कमाएको संस्था फ्यूजमेशिनको स्थापना सन २०१३ मा भएको हो ।

कसरी सञ्चालन हुन्छ एआई फेलोशिप २०२२ ?

एआई फेलोशिप २०२२ मा हरेक तीन-तीन महिनाका लागि चार ओटा कोर्स रहेका छन् । क्लासहरु अनलाइन लाइभ लेक्चर मार्फत सञ्चालन गरिनेछ ।

कोर्सको समाप्ति पछि विद्यार्थीहरुले सर्टिफिकेट पनि प्राप्त गर्न सक्नेछन् । पहिलो कोर्समा मेसिन लर्निङ (एमएल) रहेको छ । मेसिन लर्निङ प्रणाली विशेषगरी गणितमा आधारित हुने र सांख्यिकीय हुने गर्दछ ।

यसमा मेसिनलेनै निणर्य लिनका लागि डेटामा प्याटर्न खोज्ने गर्दछ । सांख्यिकीय मोडेल बनाउनका लागि विभिन्न एल्गोरिदम हुने गर्दछ । एमएललाई एआईको सबसेटको रुपमा लिन सकिन्छ ।

यो कोर्समा एमएलको प्रक्रिया, वर्कफलो र प्रविधी सिकाइनेछ । अर्को तीन महिनाकै कोर्स रहेको विषय हो डिप लर्निङ्ग । यस कोर्सम डिप लर्निङ्गको आर्किटेक्चर, प्रयोग, वर्कफलो र प्रविधी सिकाइनेछ ।

त्यस्तै कोर्समा मोडेल बनाउन, प्रशिक्षण गर्न र प्रयोग गर्न सिकिनेछ । तेस्रो कोर्समा कम्प्यूटर भिजन रहेको छ । यो कोर्समा कम्प्यूटर भिजनको थुप्रै कन्सेप्टहरु पढाइन्छ जसमा ईमेज प्रोसेसिङ, फिचर डिटेक्सन, ईमेज क्लासिफिकेसन र अब्जेक्ट रिक्ग्नीसन पर्ने गर्दछन् ।

अन्तिम कोर्स तीन महिनानै लाग्ने न्याचुरल लैंग्वेज प्रोसेसिङ्ग रहेको छ । यस कोर्समा टेक्सट नोर्मलाइजेसन, क्लासिफिकेसन, क्लसटरीङ, लैंग्वेज मोडलीङ, पार्सिङ, इन्फोरमेसन एक्सट्रयाक्सन र मेसिन ट्रान्सलेसन रहेको छ ।

एआई फेलोशिप २०२२ कसरी सहभागी हुने ?

यस एआई फेलोशिप २०२२ मा तेस्रो र चौथो वर्षका इन्जिनियरिङका विद्यार्थी र स्नातक तह उर्तीण गरिसकेको विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।

एआई फेलोशिप २०२२ मा सहभागी हुन चाहने विद्यार्थीहरुलाई लिनियर अल्जेब्रा, प्रोबाबिलिटी, स्टाटिसटिक्स र बेसिक क्यालकुलसको ज्ञान हुनुपर्नेछ ।

त्यस्तै सहभागीहरुलाई प्रोग्रामिङ र कम्प्यूटर साइन्सको पनि राम्रो जानकारी हुनुपर्छ र पाइथनमार्फत प्रोग्रामिङ गर्न आउनुपर्ने हुन्छ ।

एआई फेलोशिपमा सहभागी हुन शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि अनलाइन फाराम भनेर आफ्नो आवेदन बुझाउनुहोस् । तपाईको एप्लिकेशन स्वीकृत भएपछि तपाईले प्रोगाममा सहभागी हुनका लागि अनलाइन प्रवेश परीक्षामा सहभागी हुनुपर्ने हुन्छ ।

त्यस अनलाइन प्रवेश परीक्षामा पास भएर सर्टलिस्ट गरिएका सहभागीहरुलाई इन्टरभ्यू सेसनमा सहभागी गराइन्छ । इन्टरभ्यू सेसन सफलतापूर्वक पूरा भएपछि तपाई प्रोग्राममा सहभागी हुनसक्नुहुनेछ ।

एआई फेलोशिपको शैक्षिक टोलीमा को को छन् ?

एआई फेलोशिपको शैक्षिक टोलीमा फ्युजमेसिनका शैक्षिक मामिला निर्देशक प्रो. डा. बुलेन्ट उयानिकर रहेका छन् । उनी ब्रिटिश कोलम्बिया विश्वविद्यालयका पूर्व संकाय पनि हुन् ।

त्यस्तै फ्युजमेसिनका एआई एकेडेमिक्सका प्रबन्धक रोजेश मान शिखरकार यस टोलिका अर्को सदस्य हुन् । यसैगरि फ्युजमेसिनका एआई विकास प्रबन्धक राकेश कुमार कटुवाल तेस्रो सदस्यको रुपमा विद्यमान रहेका छन् ।

रोजगारीको अवसर

यी कोर्सहरु सम्पन्न गरेपछि विद्यार्थीहरुलाई जागिर नियुक्तिको अवसर पनि प्रदान गर्ने गरिन्छ । विभिन्न कम्पनीहरुमा विद्यार्थीहरुलाई सिफारिस गरेर पठाइनेछ । कम्पनीले राम्रो गर्ने विद्यार्थीहरुलाई फ्युजमेसिनमै रोजगार पनि दिने गर्दछ ।