कीवर्डहरू -

७५ हजार कर्मचारीले समायोजनमा जान भरे फारम, सफ्टवेयरबाटै समायोजन र नियुक्ति पत्र

७५ हजार कर्मचारीले समायोजनमा जान भरे फारम, सफ्टवेयरबाटै समायोजन र नियुक्ति पत्र

काठमाण्डौ । झण्डै ७५ हजार कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमा समायोजन अनलाइनमार्फत फाराम भरेका छन् । अबको केही समयमा नै सबै स्थानीय तह र प्रदेशमा कर्मचारी पुगिसक्ने सरकारले बताएको छ ।

समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारी फेरि संघमा फर्कन नपाउने र वृत्ति विकासमै असर पर्ने गरि समायोजन गर्न लागिएको भन्दै कर्मचारीहरु आन्दोलित बनेका थिए । तर कर्मचारीको बिरोधका बाबजुद पनि समायोजन प्रकृया अघि बढेपछि कर्मचारीहरुले बाध्य भएर फारम भरेका हुन् ।

फारम भर्न छुटेका तथा निजामती किताबखानामा विवरण अपडेट नगराएका कर्मचारीको नाम समेत समायोजन सफ्टवेयरमा राखिने छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको पुस ११ गते समायोजनका लागि चारवटा छुट्टाछुट्टै सूचना प्रकाशित गरेको थियो । सरकारी सेवाका कर्मचारी, साविक जिविसमा स्थायी नियुक्ति पाएर जिल्ला समन्वय समिति वा अन्य कुनै स्थानीय तहमा कार्यरत कर्मचारी, प्रदेश वा स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग, प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारी र संघ, प्रदेश र स्थानीय तहको नयाँ संगठन संरचनामा दरबन्दी कायम नभएका पदका कर्मचारीका लागि सरकारले आवेदन खुलाएको थियो ।

सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ । दरबन्दी अनुसार नै सफ्टवेयरले समायोजनमा पठाउने मन्त्रालयका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

समायोजन प्रकृया निष्पक्ष बनाउन सफ्टवेयर प्रणाली अवलम्बन गरिएको मन्त्रालयले बताएको छ ।

कर्मचारीको विवरण ‘भेरिफाई’ गर्न केही समय लाग्ने र त्यसपछि समायोजन पत्र दिने काम सुरु हुने छ । पहिलो चरणमा सचिवहरुलाई समायोजन पत्र दिइने प्रवक्ता अधिकारीले बताउनुभयो । समायोजनको पत्र दिनुअघि मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रदान गरिने छ ।

त्यसपछि क्रमैसँग सहसचिव र त्यसपछिका सबै कर्मचारीलाई पत्र थमाउने काम हुने उहाँले बताउनुभयो । अर्को हप्तादेखि समायोजनको पत्र थमाउने काम सुरु हुने पनि उहाँले बताउनुभयो ।