कीवर्डहरू -

मेडिकल शिक्षालाई डिजिटल बनाउँदै मेडिकोज, अनलाइनमै निःशुल्क किताब, नोट र स्लाइड पढ्न पाइने

९० प्रतिशत विदेशी प्रयोगकर्ता

मेडिकल शिक्षालाई डिजिटल बनाउँदै मेडिकोज, अनलाइनमै निःशुल्क किताब, नोट र स्लाइड पढ्न पाइने

चितवन नारायणगढका सन्तोष रिजाल र अंकित श्रेष्ठ बच्चै देखिएका साथी हुन् । उनीहरू विद्यालय तह पनिसँग पढे भने अहिले चितवन मेडिकल कलेजमा एमबीबीएस पनि सँगै पढिरहेका छन् ।

हाल उनीहरू एमबीबीएसको अन्तिम वर्षमा छन् । सन्तोष र अंकित पहिलेदेखि नै प्रविधिमा रूची राख्थे र कोडिङ पनि गर्थे ।

तर उनीहरू भविष्यमा डाक्टर बन्ने सपना देखेर एमबीबीएस पढ्न थालेका थिए । एमबीबीएस अध्ययन गर्दै गर्दा उनीहरूले नोटको र किताबको समस्या भोगे । भनिन्छ नी ‘समस्या र समाधानको बीचमा बिजनेस लुकेको हुन्छ’ । यो कुरा उनीहरूमा पनि लागु भयो । सन् २०२१ मा जन्मियो मेडिकोज इन्टरनेसनल ।

‘सरहरू पावरपोइन्ट, स्लाइडहरू बनाएर पढाउन आउनुहुन्थ्यो । धेरैजसो सरहरूले लेक्चर नोट दिएर जानुहुन्थ्यो तर कतिको लेक्चर नोट समयमा पाइदैन्थ्यो,’ मेडिकोजका संस्थापक तथा सीईओ अंकित श्रेष्ठले भने, ‘त्यसले गर्दा घर गएर रिभिजन गर्न र लेक्चर नोट पाउन गार्‍हो हुन्थ्यो ।’

सँगसँगै उनीहरूले अर्को समस्या पनि भोगे, त्यो समस्या हो किताबको । मेडिकल शिक्षा अध्ययन गर्ने विद्यार्थीले प्राय विदेशीले लेखेका किताब पढ्नुपर्ने हुन्छ । त्यो पनि महंगो हुन्छ ।

उनले अगाडि भने, ‘एउटै किताबको २-३ हजार रूपैयाँ पर्छ । यसरी सबैको विषयको किताब किन्दा डेढदेखि २ लाख रूपैयाँसम्म अलग्गै छुट्याउनु पर्ने भयो ।’

नोटको र किताबको समस्यालाई समाधान गर्न उनीहरूले सन् २०२० मा मेडिकोज पीडीएफ एप बनाए । योजना पहिले देखिकै भएपनि त्यसले मूर्तरूप भने लकडाउनमा पायो ।

लकडानउको समयलाई सदुपयोग गरेर उनीहरूले एप विकास गरे । यो उनीहरूको मात्र समस्या थिएन् लाखौं मेडिकल विद्यार्थीको समस्या थियो । त्यसकारण छोटो समयमै उक्त एप लोकप्रिय भएपछि उत्साहित हुँदै थप मेडिकल एपहरू विकास गरे ।

\"\"

उनीहरूले विभिन्न चरणमा आधा दर्जन एप विकास गरेका छन् । एपहरू लोकप्रिय हुँदै गएपछि कम्पनी स्थापना गरेर काम गर्ने योजना बनाए ।

अन्ततः  सन् २०२१ जनवरी १ मा मेडिकोज इन्टरनेसनल प्रालि नामक कम्पनी दर्ता गर्दै मेडिकल शिक्षालाई डिजिटलाइज गर्ने योजना आधिकारिक रूपमा अगाडि बढ्यो ।

यससँगै मेडिकोजमा  सह-संस्थापक तथा प्रमुख प्राविधिक अधिकृत (सीटीओ) को रूपमा इन्जिनियर विवेक न्यौपाने र एकजना नयाँ लगानीकर्ता कम्पनीमा आएका छन् । विवेकले अहिले कम्पनीको सम्पूर्ण टेक्निकल पार्ट हेरिरहेका छन् ।

उनीहरूले मेडिकोज पीडीएफ, मेडिकोज मेडिसिन, मेडिकोज हिस्टोलोजी, मेडिकोज सर्जरी, मेडिकोज ईसीजी, मेडिकोज पेडियाट्रीक, मेडिकोज एमसीक्यु, मेडिकोज रेडियोलोजी र मेडिकोज डेन्टल एप विकास गरी प्ले स्टोरमा सार्वजनिक गरेका छन् ।

यी एपहरूमा नाम अनुसार नै मेडिकल सामग्री राखिएको श्रेष्ठले बताए । जस्तै मेडिकोज मेडिसिनमा मेडिसिन सम्बन्धि, मेडिकोज सर्जरीमा सर्जरी सम्बन्धि आदि ।

मेडिकोज पीडीएफमा मेडिकल सम्बन्धि किताब र नोटहरू पाइने उनले बताए । मेडिकोज पीडीएफ उनीहरूको शुरूमा बनाएको एप हो ।

‘शुरूमा हामीले एमबीबीएसका किताबको पीडीएफ त्यहाँ राख्यौं ।  त्यसपछि डेन्टल, नर्निङ, बी फार्मा, फिजियोथेरापी लगायतको राख्यौं । अहिले मेडिकल शिक्षामा चाहिने सबै किताब मेडिकोज पीडीएफमा राखिसकेका छौं ।’

विभिन्न साइटमा उपलब्ध मेडिकल किताबका पीडीएफ फाइललाई यसमा राखिएको छ । प्रयोगकर्ताले पनि यसलाई राम्रो रूचाइरहेका छन् । पहिलो वर्ष नै १ लाखभन्दा बढी डाउनलोड भइसेकको थियो । नेपालीभन्दा पनि विदेशी प्रयोगकर्ताले मेडिकोज पीडीएफ प्रयोग गरिरहेका छन् ।

भारतबाट, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायत, फ्लिपिन्स लगायतका देशबाट ९० प्रतिशत भिजिटर आउने गरेको उनले बताए ।

अहिलेसम्म मेडिकोज पीडीएफ प्ले स्टोरबाट ३ लाख बढी डाउनलोड भइसकेको छ । अब मेडिकोज एप एप स्टोरेमा पनि सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।

मेडिकोज पीडीएफलाई अझै वृह्त बनाउने योजना अनुरूप उनीहरूले हालै मेडिकोज पीडीएफ डटकम वेबसाइट पनि शुरू गरेका छन् । वेबसाइटबाट चाहिं प्रयोगकर्ता आफैले स्लाइड पनि अपलोड गर्न सक्छन्, जुन एपमा त्यो सुविधा थिएन् ।

सोसियो लर्निङ प्लेटफर्म जसरी मेडिकोज पीडीएफलाई विकास गर्न खोजेको श्रेष्ठ बताउँछन् । मेडिकल विद्यार्थीहरूको एउटै गन्तव्य मेडिकोज पीडीएफ बनाउने गरी उनीहरूले काम गरिरहेका छन् ।

हाल मेडिकोज मेडिसन, मेडिकोज हिस्टोलोजी र मेडिकोज ईसीजीको डाउनलोड ५० हजार पुगेको छ । प्ले स्टोरमा सार्वजनिक भएका सबै एपहरूको डाउनलोड संख्या ५ लाख बढी रहेको उनले जानकारी दिए ।

धेरै मेडिकल प्रयोगकर्तासँग आईओएस डिभाइस भएकाले अब विस्तारै प्ले स्टोरमा उपलब्ध भएका एप एप्पलको एप स्टोरमा सार्वजनिक गर्ने योजना रहेको उनी बताउँछन् ।

अब उनीहरूको योजना भनेको मेडिकोज र आफ्नो डाक्टर पेशालाई सँगसँगै लग्ने योजना बनाएका छन् । ‘अहिले जसरी सँगसँगै लान्छौं,’ उनले भने ।

\"\"

एउटा सामान्य आईडियाबाट शुरू भएको कम्पनीले अहिले सफ्वेयर इन्जिनियर, कन्टेन्ट राइटर र डिजाइनर र मार्केटिङ गरी ७ जनालाई रोजगारी दिएको छ भने ६ जनालाई इन्टर्नसीप प्रदान गरेको छ ।

मेडिकोज इन्टरनेसनलमा एक जना लगानीकर्ता पनि जोडिएका छन् । अहिले उनीहरूले एपबाट आम्दानी गरिरहेका छन् ।

श्रेष्ठ भन्छन, ‘अहिले कम्पनी नाफामा नभएपनि एपबाट आएको आम्दानीले तलब दिन पुगिरहेको छ ।’ अहिलेका यी प्रडक्टहरूलाई मोनिटाइजको रूपमा अगाडि बढाउने उनीहरूको योजना छ ।

अहिले एमबीबीएस तहको मात्रै काम गरेको र अब विस्तारै अन्य मेडिकल क्षेत्रलाई पनि समेट्ने योजना रहेको उनले बताए ।

‘अबको एक-डेढ वर्षमा हाम्रो पढाइ सकिन्छ । त्यसपछि हामी अझ मेडिकोजमा लागि पर्छौं’ उनले भने । मेडिकोज इन्टरनेसनलबाट मेडिकल सम्बन्धि किताबहरू समेत निकाल्ने उनीहरूको योजना छ ।