कीवर्डहरू -

माघ १५ देखि हुने \'सुबिसु क्यान इन्फोटेक\'को तयारी तीव्र, ९० प्रतिशत स्टल बुकिङ

माघ १५ देखि हुने \'सुबिसु क्यान इन्फोटेक\'को तयारी तीव्र, ९० प्रतिशत स्टल बुकिङ

काठमाडौं । माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ तयारी तीव्र पारिएको छ ।

६ दिन सञ्चालन हुने इन्फाेटेककाे शुक्रबारसम्म ९० प्रतिशत स्टल बुकिङ भएको र प्रायोजकहरु पनि लगभग निश्चित भएको जानकारी क्यान महासंघका केन्द्रीय महासचिव रञ्जित पोद्दारले दिए । उनले सञ्चारमाध्यममार्फत् प्रदर्शनीको व्यापक प्रचारप्रसार गर्न र फेरि एकपटक राजधानीलाई प्रविधिमय बनाउन लागिपरेको बताए ।

प्रदर्शनीमा सूचना प्रविधिसम्बन्धी कुल १ सय ७५ स्टल रहने छन् । हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सलुसन, मोबाइल फोन, मोबाइल फोन एसेसरिज, डिलर एवं डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्िटच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सलुसन्स आदि प्रदर्शनीमा सहभागी हुने छन् ।

\"No

नयाँ नयाँ प्रबिधिको अवलोकनसँगै जागिरको अवसरपनि भन्ने नाराका साथ आयोजित मेलामा सूचना तथा सञ्चार प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिने छ ।

यस पटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रबिधि समेत समावेश गर्ने प्रयास गरिएको छ । मेलामा प्रत्येक ३/३ घण्टामा चिठ्ठा मार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

साथै प्रत्येक दिन १ जनालाई बम्पर पुरस्कारको पनि व्यवस्था गरिने बताइएको छ । नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिने छ ।

सूचना प्रबिधिको क्षेत्रमा करियर बनाउन प्राबिधिक विषय अध्ययनरत विधार्थीले मेला स्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आइटी कम्पनीहरुमा पठाइदिने र रोजगारीका लागि आवश्यक सहजीकरण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । साथै अनलाइन टिकट खरिदमा १० प्रतिशत छुट रहेको छ ।