कीवर्डहरू -

‘कर्पोरेट पे’ द्वारा ७ महिनामै ५५ अर्ब कारोबार फर्स्योट

‘कर्पोरेट पे’ द्वारा ७ महिनामै ५५ अर्ब कारोबार फर्स्योट

नेपाल क्लियरिङ हाउस लिमिटेडको ‘कर्पोरेट पे’ प्रणालीले चालू आर्थिक वर्षको सात महिनामै ५५ अर्ब रुपैयाँ बराबर कारोबार फर्छ्यौट गरेको छ । बैंक/वित्तीय संस्थाहरूका साना तथा मझौला व्यवसायिक तथा संस्थागत ग्राहकहरूलाई सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी ‘कर्पोरेट पे’ प्रणाली प्रयोग हुँदै आएको छ ।

उक्त प्रणाालीमा हाल ४८ बैंक तथा वित्तीय संस्थाहरूमार्फत २ हजार ६०० भन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध भइसकेका छन् । प्रणालीमार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट र नेपाल सरकारको राजस्वलगायत विभिन्न भुक्तानी गर्न सकिने क्लियरिङ हाउसले जानकारी दिएको छ ।

पछिल्लो समय यस प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्र तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी थप गरिएको छ । व्यावसायिक ग्राहकहरूलाई भुक्तानी कारोबार सुरक्षित रूपमा गर्नका लागि आवश्यक मल्टी अथोराइजेशन तथा मल्टिपल सिग्नेचरिजसमेत व्यवस्था भएको छ ।

क्लियरिङ हाउसका अनुसार यो प्रणालीमा रियल टाइममा प्रतिकारोबार २० लाख रुपैयाँसम्म र नन–रियल टाइममा प्रतिकारोबार २० करोड रुपैयाँसम्म तथा नेपाल सरकारको भुक्तानी प्रतिकारोबार ३० करोड रुपैयाँसम्म गर्न सकिन्छ ।

साथै, यस प्रणालीमा एउटै प्ल्याट्फर्ममा एकभन्दा बढी बैंक खाताहरू लिङ्क गरी कारोबारहरू गर्न सक्ने व्यवस्थासमेत छ । एनसीएचएलद्वारा संचालन गरिएको उक्त प्रणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंक/वित्तीय संस्थासँग सम्पर्क गर्नुपर्छ ।