कीवर्डहरू -

नेपाली पात्रोको सिईओमा सन्तोष कुमार देवकोटा नियुक्त

नेपाली पात्रोको सिईओमा सन्तोष कुमार देवकोटा नियुक्त

डिजिटल मिडिया तथा स्मार्ट कम्युनिटी प्लेटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार देवकोटा नेपालको प्रथम मोबाइल एप्लिकेशन नेपाली पात्रोको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका छन् ।

विक्रम सम्वत् २०५६ साल वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराइको पहिलो एफएम ‘रेडियो वीरगञ्ज ९९ मेगाहर्ज’मा विद्युतीय सञ्चारको लामो अनुभव संगालेका छन् ।

रेडियोको अग्रणी संस्था ‘इक्वल एक्सेस नेपाल’मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्शांकन विज्ञको रुपमा छवि बनाएका देवकोटा पछिल्लो एक दशकदेखि डिजिटल मेडिया तथा कम्युनिटी प्लेटफर्म विज्ञको रुपमा सक्रिय रहँदै आएका छन् ।

देवकोटाले यही फेब्रुअरी १३ तारिख २०२२ विश्व रेडियो दिवसका दिन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् ।

विक्रम संवत् २०६३ साल (सन् २००८) मा सर्वप्रथम फेसबुक मार्फत सार्वजनिक भएको ‘नेपाली पात्रो’ विक्रम संवत् २०६६ (सन् २०११) मा गुगलको प्लेस्टोर मार्फत एन्ड्रोइड तथा एप्पल प्रयोगकर्ताहरुकाका लागि एपस्टोर मार्फत् सार्वजनिक गरिएको थियो ।

पछिल्ला वर्षहरूमा नेपालबाट रोजगारी तथा विभिन्न अवसरको खोजीमा विदेश बसाइँ सर्ने क्रम बढेको छ । विशेष गरी नयाँ पुस्ताको विदेश मोह र बाह्य सांस्कृतिक अन्तरघुलनले मौलिक सभ्यता बिर्सने जोखिम रहन्छ नै ।

त्यसैले नेपाली पात्रोले आम नेपाली मूलका जनसमुदायलाई समेट्दै आफ्नो जरो तथा मौलिक धर्म-संस्कृतिका विशेषताहरूलाई उनीहरूसम्म पुर्याउने प्रयास गर्दै आएको छ ।

‘हाम्रो समय, हाम्रो गौरव’ मूलमन्त्र बोकेको नेपाली पात्रो र हाम्रा ९० लाख प्रयोगकर्ता, हाम्रा अनलाइन तथा प्रिन्ट मेडिया, टेलिभिजन, देशभरीको रेडियो तथा स्वतन्त्र कन्टेन्ट उत्पादकहरुसँगको अबको यात्रालाई अझ प्रत्यूदपादक, अझ नविन बनाउनका लागि हामीसँग सिइओको भूमिकामा सन्तोष कुमार देवकोटा आवद्ध भएका हुन् ।

नेपाली तथा अंग्रेजी भाषा समेतका नेपालका महत्वपूर्ण अनलाइन समाचार स्रोत आवद्ध ‘नेपाली पात्रो’ नेपाली सञ्चार सामाग्रीहरुलाई प्रभावकारी ढंगले धेरै भन्दा धेरैको पहूँचमा जोडिरहने पावर टुल्सको रुपमा परिचित नेपालमैं उत्पादित पहिलो कम्यूनिटी एप हो ।

जिनियस सिस्टम्स सह-संस्थापक तथा नेपाली पात्रोका परिकल्पनाकार विरीजन महर्जनले आउँदा दिनहरुमा हामी नेपाली प्रयोगकर्ताहरुका लागि आवश्यक ति तमाम कोशिषहरु गर्नेछौं जसले नेपाली पात्रोलाई नेपालीहरुको आधिकारिक तथा विश्वासिलो कम्यूनिटी एप बनाइरहन सहयोग गर्ने बताए ।

उनले भने, ‘हामी हाम्रो एप्लिकेशन ‘नेपाली पात्रो’ मार्फत् देश तथा विदेशमा बस्ने हरेक नेपालीहरुलाई जोडिरहने एउटा पुल बन्न चाहन्छौं । लाखौं नेपालीले माया गर्नुभएको यस साझा पुलमा सन्तोषजीलाई स्वागत छ ।’

नेपाली पात्रोले हाम्रो मौलिक चाडपर्व, तिथि-मिति, पञ्चाङ, उत्सव तथा सांस्कृतिक गतिविधि मात्र समेटेको छैन, यो सबै उमेर समूहका लागि उपयोगी स्मार्ट एप्लिकेशन हो ।

यो क्यालेण्डर बाहेक, भिडियो, रेडियो, कुण्डली, दैनिक विदेशी मुद्राको विनिमय दर, सुन चाँदिको दैनिक दररेट, मौसम, एकाइ रुपान्तरण (धुर-आना र बिघा-रोपनी निकाल्ने) शुभ साइत तथा मुहूर्तहरु, ज्योतिष सेवा, ब्लग, मिति परिवर्तन लगायतका सुविधाहरुले युक्त छ ।