इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको संस्था टेलिटक प्राइभेट लिमिटेडबीच नेपालमा ‘बोट’ उत्पादित श्रव्य विद्युतीय उपकरण (हियरेबल र वेरेबल) बिक्री-वितरण गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरूको लागि टेलिटक राष्ट्रिय वितरक रहनेछ ।
यो सम्झौतासँगै अब नेपाली उपभोक्ताहरूले गुणस्तरीय हियरेबल्स र वेरेबल उत्पादनहरू प्राप्त गर्ने दाबी ती कम्पनीले गरेका छन् ।
इम्याजिन मार्केटिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक गम्भीरले हाम्रा उत्पादनहरू नेपाल ल्याउन पाउँदा उत्साहित रहेको र आफूहरूको उद्देश्य उपभोक्ताहरूको चाहना अनुसारका अडियो सोलुसन प्रदान गर्नु भएको बताएका छन् ।
त्यस्तै, टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले बोटले वर्षौदेखि स्टाइलिस र राम्रो काम गर्ने उच्च गुणस्तरीय अडियो उपकरणहरूमार्फत आफ्नो बलियो ब्रान्ड इक्विटी निर्माण गरेको दाबी गरे ।
यो साझेदारीमार्फत नेपाली उपभोक्ताहरूलाई सस्तो मूल्यमा उत्कृष्ट गुणस्तरको उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको उनकाे भनाइ छ ।