कीवर्डहरू -

अनलाईनबाट ठगी गर्ने एकजना पक्राउ

अनलाईनबाट ठगी गर्ने एकजना पक्राउ

सामाजिक सञ्जाल वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी २९ लाख ४० हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका- ४ घर भएका ३८ वर्षीय गान्दिप गौतम रहेका छन् ।

आफूलाई विदेशी नागरिक बताउने डा.जोहान लोरेन्स नामक ब्यक्तिले सामाजिक संजाल फेसबुक वाट्सएपको माध्यमबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, साथै सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेश समेतको पार्सल पठाएको छु भनी म्यासेज पठाएका थिए ।

म्यासेज पठाएको केही समयपछि प्रताप राना सिंह नाम बताउने व्यक्तिले पीडितलाई वाटसएप मार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी भ्रमपूर्ण बिश्वासमा पारी बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता नम्बर र आइएमईको माध्यमबाट उक्त रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न गौतमलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।