कीवर्डहरू -

सिटिजन्स बैंकको ई-केवाइसी सेवा सञ्चालन, मोबाइलबाटै केवाईसी अपडेट गर्न सकिने

सिटिजन्स बैंकको ई-केवाइसी सेवा सञ्चालन, मोबाइलबाटै केवाईसी अपडेट गर्न सकिने

सिटिजन्स बैंकले डिजिटल ई-केवाइसी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सेवा सञ्चालनमा ल्याएको हो।

यो सेवा उपयोग गर्न बैंकको वेबसाइट र मोबाइल बैंकिङ एपमा उपलब्ध गराइएको लिंकमा गएर ग्राहकहरूले आफ्नो खाताको केवाइसी विवरणहरू बिना झन्झट अपडेट गर्न सक्नेछन्।

आफ्नो केवाइसी फर्म अपडेट गर्नु अघि ग्राहकहरूले निश्चित भ्यालिडेसन प्रकृया भने पूरा गर्नुपर्ने हुन्छ। यो अनलाइन सेवाको प्रयोग गरी ग्राहकहरूले बैंकको शाखा जानु पर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोबाइल वा कम्प्युटरको माध्यमबाट कुनै पनि समय केवाइसी अध्यावद्यिकको निवेदन दिन सक्नेछन्।

डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै आएको बैंकले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै कियोस्क सेवाको सुरुवात गरेको छ।

कियोस्क मार्फत प्रारम्भिक रुपमा ग्राहकहरूले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरू प्राप्त गर्ने जस्ता सेवा बैंकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न  सकिन्छ।

साथै बैंकका ग्राहकहरूको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरूको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले हाल देशभरी रहेको १७४ वटा शाखा,  १२३  वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ इकाइहरूबाट १३ लाखभन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दैछ।