कीवर्डहरू -

पुरनको बन्दाले बजार पायो, मेट्रो तरकारीको उदाहरणीय काम

पुरनको बन्दाले बजार पायो, मेट्रो तरकारीको उदाहरणीय काम

चितवन । अनलाइनबाटै ताजा तरकारी खरिद गर्न सकिन्छ भन्ने अवधारणा स्थापित गरेको मेट्रोतरकारी डटकमले किसानकाे हितका लागि उदाहरणीय काम गरेकाे छ। २ रुपियाँमा समेत बन्दा बिक्री नभएपछि डोजर लगाएर खेतमै नस्ट गर्न थालेका पूर्वी चितवनको खैरहनी नगरपालिका–६, तुलसीपुरका किसान पुरन महतोको बाँकी रहेको बन्दा २ टन बन्दा मेट्रोतरकारी खरिद र्गयो । त्यो पनि कृषक भएकै ठाउँमा गएर ।

प्रतिकिलो ५ रुपैयाँको दरले १० हजार रुपैयाँको चेक महतोलाई थमाए । यो मूल्य पनि किसान आफैले निर्धारण गरे । अरु बेला खरिद गर्ने व्यापारीले तकारीको मूल्य तोक्थे । ‘आज धेरै नै खुशी भएको छु, जिन्दगीमा पहिलो पटक आफैले मूल्य तोकेर तरकारी पठाउनु अगावै चेक बुझ्न पाए’, खुशी हुँदै पुरनले भने । बजार नपाएर खेर गईरहेको तरकारी विक्री हुँदा उनको मुहारमा छुट्टै चमक देखिन्थ्यो ।

पुरनको खेतमा अझै १५ टन भन्दा बढि बन्दा पनि अनलाईन व्यवसायीले खरिद गर्ने प्रतिवद्धता जनाएको उनले बताए । यसअघि उनले १६ कठ्ठामा लगाएको बन्दा डोजर लगाएर नष्ट गरेका थिए । मेट्रोतरकारी डटकमका सिइओ अनिल बस्नेतले लिभिङ विथ आइसिटीसँगको कुराकानीमा भने, ‘किसानको तरकारीले बजार नपाएको धेरै समस्या छ । हामीले किसानकै मूल्यमा तरकारी लिने र उपभोक्तासम्म वस्तु पुग्दा पारदर्शीता अपनायौं । हामीले यो अभियानलाई निरन्तरता दिने छौं,’

सोमबार विहानै खेतमै पुगेको मेट्रोतरकारी अनलाईन टिमले सबै अवस्था हेरेपछि तरकारी खरिद गरेको थियो । पुरनबाट खरिद गरेको बन्दा काठमाडौंमा विक्री गरिने मेट्रो तरकारी डटकमले जनाएको छ । कम्पनीका सिईओ अनिल बस्नेतले बजार नपाएर तरकारी नै नष्ट गरेको खबर थाहा पाएपछि तुरुतै किसानको सम्पर्कमा आएको बताए ।

यहाँबाट लगिएको तरकारी अनलाईनबाटै विक्री गरिने भन्दै किसानलाई तरकारी फाल्न नपर्ने बनाउन आफूहरु लागि परिरहेको उनले बताए । “बजारमा तरकारी नपाएर उपभोक्ता समस्यामा छन्, यहाँ तरकारी नष्ट गरेको खबर आएपछि हामी तुरुन्तै चितवन आएका हौं”, उनले भने ।

उनको टिमले सञ्चालन गरिरहेको मेट्रोतरकारीले नेपाली बजारमा प्रविधिमार्फत् किसान र उपभोक्तालाई जोड्न सफल भएको छ । उपभोक्ताले अनलाईनमै हरेक तरकारीको मूल्य हेर्न पाउने व्यवस्था मिलाएको बताउने बस्नेतले किसानबाट खरिद गरिएको मूल्य र अन्य खर्च जोडेर २० प्रतिशत नाफा मात्रै राखेर उपभोक्तालाई विक्री गर्ने गरेको बताए ।