नेपालमा ट्राफिक लाइट (बत्ती)को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेको छ । यसका साथै चालक पनि अनाहक कारबाहीमा पर्ने गरेका छन् ।
विशेष गरी अग्लो सवारीसाधनका पछाडि रोकिएका साना सवारीका चालकले टाढैबाट स्पष्ट रूपमा बत्ती देख्न नसक्दा सवारी दुर्घटना र अनाहक कारबाहीसँगै ‘जाम’ को सास्ती भोग्ने गरेका छन् ।
महानगरीय ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी सडक तथा सवारी व्यवस्थापनका लागि जडान गरिएका ट्राफिक लाइटको उचाइ नै स्पष्ट नहुँदा यस्तो समस्या देखिएको बताउछन् । ‘कहिलेकाहीँ अगाडिको ठूलो गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना हुन्छ, टाढासम्म बत्ती देख्न नसक्दा तीव्र गतिमा आएका सवारी ‘लेन’ कारबाहीमा पर्ने गर्छन्’ महाशाखा प्रमुख जोशीले भने, ‘त्यसैले सडकको अवस्थाअनुसार ट्राफिक बत्तीको उचाइ स्पष्ट हुन जरुरी छ ।’
‘हरियो बत्ती बलिसकेको हुन्छ, बस, ट्रक र कन्टेनरलगायतका अग्ला सवारी चलेका हुँदैनन् तर पनि पछाडि रहेकालाई हतार भइसकेको हुन्छ,’ उनले थप्नुभयो, “यस्तो बेला दुर्घटना र जामको समस्या हुन्छ । टाढैबाट देखिने गरी बत्ती राख्ने विषयमा छलफल भइरहेको छ ।’
ट्राफिक प्रहरी महाशाखाको प्राविधिक टोलीले गरेको स्थलगत अध्ययनका क्रममा पनि ट्राफिक बत्तीको उचाइ नौदेखि २० फिटसम्म रहेको पाइएको छ । सडकको प्रकृतिअनुसार बत्ती राखेको अवस्था देखिँदैन । कहीँ छड्के तथा बाङ्गा छन् ।
महाशाखा प्रमुख जोशीका अनुसार फरक क्षमता भएका (अपाङ्गता भएका) व्यक्ति, विद्यार्थी तथा बालबालिका र अशक्त नागरिकमैत्री सडक तथा ट्राफिक बत्तीको व्यवस्था हुन सकेको छैन । रातो, हरियो र नीलो तीन किसिमका बत्ती अनुसार सडक मार्ग गरिएको छैन ।
सडक विभागले सडकको प्रकृतिअनुसार मुख्य राजमार्ग (हाइवे), सहायकमार्ग (स्थानीय) र भित्री (सिटी) मार्गमा छुट्टाछुट्टै किसिमको मापदण्ड तयार पारी ट्राफिक बत्ती र मार्किङको तयारी गरेको छ ।
विकसित मुलुकले सडकको मापदण्डअनुरूप ट्राफिक बत्ती राख्ने गरेको पाइएको छ । सडक विभागका महानिर्देशक शिवहरि सापकोटाका अनुसार नेपालमा मापदण्डअनुरूप बत्ती राख्ने सम्बन्धमा छलफल सुरु भएको छ ।
कतिपय मुलुकमा ट्राफिक बत्तीको उचाइ तीन फिटदेखि ३० फिटसम्म रहेको पाइएको छ । छिमेकी देश भारतले सडकको लम्बाइ, लेन अवस्था र प्रकृतिका आधारमा २.३ देखि सात मिटरसम्म बत्ती राखेको देखिन्छ ।
त्यस्तै चालकले टाढैबाट बत्ती देख्न सकून् भन्नका लागि ‘किलोवाट’ क्षमता, हुस्सु, कुहिरो तथा धुवाँ–धुलोमा टाढैबाट बत्ती देख्न सकिने व्यवस्था मिलाइएको छ । नेपालमा भने तत्काल त्यस्तो अवस्था सम्भव नभएको प्राविधिकहरू बताउँछन् ।
सडक नै छेकिने गरी बिजुलीलगायत विभिन्न सेवाका तार झुन्ड्याइएका खम्बा, रुख तथा घर–भवनका कारण समस्या देखिएको छ । कति मिटर लम्बाइ र चौडाइ भएको सडकमा कति उचाइमा बत्ती राख्ने विषयमा अध्ययन गर्ने विभागले जनाएको छ ।
ट्राफिक महाशाखाका अनुसार उपत्यकाका ४६ स्थानमा ट्राफिक बत्ती छन् । तीमध्ये ४० वटा सञ्चालनमा छन् । भक्तपुरको ठिमीचोक, सूर्यविनायक, कौशलटार, गट्ठाघर, सल्लाघारी, ललितपुरको महापालचोक, पुल्चोक, हरिहरभवन, अल्का अस्पताल नजिक चोकमा ट्राफिक बत्ती राखिएको छ । पैदलयात्रुको सुविधाका लागि १३ स्थानको जेब्रा क्रसिङमा १३ वटा ‘पेडेस्ट्रियन कन्ट्रोल लाइट’ जडान भएका छन् ।
नेपालमा ट्राफिक बत्ती
नेपालमा २०२३ सालमा सिंहदरबार, नारायणहिटी दरबारको दक्षिणगेट, सुन्धारा र न्युरोडमा पहिलो पटक ट्राफिक बत्ती जडान गरिएको थियो ।
त्यसपछि २०५७ सालमा जापान सरकारको सहयोगमा थप स्थानमा जडान गरिएका बत्ती मर्मत सम्भारको अभावमा २०६८ सालमा आएर प्रायः सबै बिग्रिएका थिए । बिग्रिएका बत्ती मर्मत सम्भार तथा नयाँ जडान कार्य २०७६ सालबाट अभियानकै रूपमा सञ्चालन गरिएको थियो ।
ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित स्थानीय तहको सहयोगमा उपत्यकाका १०८ स्थानमा अत्याधुनिक ट्राफिक बत्ती राख्ने प्रस्ताव गरेको छ । त्यसमध्ये पहिलो चरणमा ३६ स्थान, दोस्रो चरणमा ३२ र तेस्रो चरणमा ४० स्थानमा बत्ती राखिने छ ।
थप १३ स्थानमा ‘पेडेस्ट्रियन कन्ट्रोल लाइट’ बत्ती राख्न प्रस्ताव गरिएको महाशाखाले जनाएको छ । उपत्यकाबाहिर बुटवलको मणिग्राम र पोखराको महेन्द्रपुलमा मात्र ट्राफिक बत्ती विस्तार गरिएको छ । अन्य सहरी क्षेत्रमा विस्तार हुन सकेको छैन ।
गोरखापत्र