नेपालका किसानहरूले खेतीपातीका क्रममा सामना गर्नुपर्ने विभिन्न किसिमका समस्यालाई कृत्रिम बौद्धिकता ( आर्टिफिसियल इण्टेलिजेन्स एआई ) को प्रयोगबाट पहिचान गरी समाधानका लागि पहल गर्न सघाउने नेपालकै पहिलो एआईमा आधारित डिभाइस साथी सार्वजनिक भएको छ ।
महिला विकास समाज ( विमेन डेभेलप्मेण्ट सोसाइटी – वोडेस ) अन्तर्गत सक्रिय महिला प्राविधिज्ञहरूको समूह इम्प्याक्टर्सले सूचना प्रविधिविज्ञ लचना हाडाको सुपरिवेक्षणमा उक्त डिभाइस तयार गरेको हो ।
परम्परागत प्रविधिलाई पछ्याउने अभ्यासका साथै जलवायु परिवर्तन, माटोको गुणस्तरमा ह्रास, अत्याधुनिक कृषि प्रविधिसम्बन्धी जानकारीको अभाव जस्ता कारण दिन प्रतिदिन ओरालो लाग्दै गएको नेपालको कृषि व्यवसायलाई पुनरुत्थान गर्नमा तथा सामान्य किसानलाई पनि सूचना प्रविधिको लाभ उपलब्ध गराउनमा एआईको यो नवीनतम प्रयोग उपयोगी हुने विश्वास गरिएको छ ।
कम्प्यूटर विज्ञान, विशेषगरी मशिन लर्निङ र एआई, इलेक्ट्रिकल इञ्जिनियरिङ र कृषि विज्ञानको सहायताबाट निर्माण गरिएको साथी डिभाइसले नेपाली किसानलाई आफ्नो खेतको माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला धाउनुपर्ने तथा परीक्षणको नतिजा पाउन लामो समय कुर्नुपर्ने बाध्यता अन्त्य गर्दै स्थलगत रूपमै तत्कालै त्यससम्बन्धी जानकारी प्रदान गर्दछ ।
यस डिभाइसको प्रयोगबाट खेतको माटोको गुणस्तर पहिचान गर्न सकिने भएकोले कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने छनोट गर्न किसानलाई सक्षम बनाउँछ । यसले बालीनालीको स्वास्थ्य सुपरि वेक्षण गर्न पनि सहयोग गर्ने हुँदा समयमै उपयुक्त उपचारका लागि पहल गर्न पनि सजग गराउँदछ ।
हाल एण्ड्रोइडमा उपलब्ध यस एप छिट्टै आईओएसमा पनि उपलब्ध गराइनेछ । कम खर्चमा सजिलै जडान तथा प्रयोग गर्न सकिने ' साथी’ डिभाइस हार्डवेयर र सफ्टवेयरसहित तयार गरिएको छ । कृषिसम्बन्धी जटिल विश्लेषण गर्नसक्ने सेन्सरसहितको प्रोटोटाइपले माटो तथा बालीनालीसम्बन्धी तथ्याङ्क सङ्कलन गर्दछ ।
ल्यापटप वा मोबाइलमा राखिने साथीको सफ्टवेयरले उक्त तथ्याङ्कलाई विश्लेषण गरी माटोको लवणता, तापक्रम, आर्द्रता, नाइट्रोजन, फोस्फरस, पोटासियम र अम्लताको अवस्थाबारे जानकारी प्रदान गर्दछ । यसैगरी उक्त सफ्टवेयरले बालीनालीमा लाग्ने २६ किसिमका रोगको पहिचान पनि गर्न सक्दछ ।
हाल यस डिभाइसले धान, गहुँ, केरा, गोलभेँडा, आलु, जुट तथा कफिलगायत २३ किसिमका बालीमा लागेको रोग पत्ता लगाउन सक्दछ । यस प्रविधि सञ्चालनका लागि इन्टरनेट वा क्लाउड पूर्वाधार पनि नचाहिने हुनाले दुर्गम क्षेत्रका किसानले पनि यसलाई सजिलै प्रयोग गर्न सक्छन् ।
यस डिभाइसको व्यावसायिक उत्पादन गरेर नाफा कमाउनेभन्दा पनि यसलाई कृषि अनुसन्धानका लागि निःशुल्क प्रदान गरेर कृषि क्षेत्रमा सूचना प्रविधिको प्रयोगसम्बन्धी थप वैज्ञानिक अनुसन्धान कार्यलाई सघाउने उद्देश्य इम्प्याक्टर्सले लिएको छ ।
नेपालमा कृषि प्रयोगशाला सीमित सङ्ख्यामा मात्र भएका कारण तिनीहरूको सेवा प्राप्त गर्न टाढा टाढा धाउनुपर्ने बाध्यता अधिकांश किसानहरूको छ । यसैगरी परीक्षणको रिपोर्टका लागि लामो समय कुर्नुपर्ने बाध्यता पनि उनीहरूको छ ।
यसरी आफ्नो खेतको माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य अवस्थाबारे वैज्ञानिक जानकारी प्राप्त गर्ने सुविधामा सहज पहुँच नभएका किसानलाई खेतबारीमै ती जानकारी उपलब्ध गराउने यस डिभाइसको प्रयोगबाट माटो अनुसारको बाली लगाई अधिकतम उत्पादन गर्न, बालीनालीमा लाग्ने रोगको समयमै निदान गर्न सजिलो बनाउने मात्र नभई कृषि व्यवसायलाई आकर्षक र प्रतिफलमूलक बनाउनमा पनि योगदान दिने विश्वास गरिएको छ ।
दश महिनाको छोटो समयमै तयार गरिएको एआईमा आधारित यस डिभाइसको सफल परीक्षण काठमाडौँको सतुङ्गल र फर्पिङ्गमा गरिसकिएको छ । उक्त परीक्षणका क्रममा किसानहरूबाट उत्साहवद्र्धक प्रतिक्रिया प्राप्त भएको छ ।
सूचना तथा प्रविधि विज्ञ लचना हाडाको नेतृत्वमा रहेको ‘इम्प्याक्टर्स’ समूह युवा वर्गलाई विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित क्षेत्रमा प्रयोगात्मक रूपमा संलग्न हुन प्रोत्साहित गर्दै सूचना प्रविधिमा आधारित नवीनतम समाधानहरू विकास गर्नमा अग्रसर रहँदै आएको छ । कृषि क्षेत्रको समस्या पहिचानका लागि तयार गरिएको ‘साथी’ डिभाइस निर्माण टोलीमा १६ जना महिला विज्ञको संलग्ता रहेको थियो ।