कीवर्डहरू -

गण्डकी प्रदेशमा सकियो स्टार्टअप एण्ड आईडिया फेस्ट, इन्क्युवेसनका लागि छानिए यी पाँच कम्पनी 

गण्डकी प्रदेशमा सकियो स्टार्टअप एण्ड आईडिया फेस्ट, इन्क्युवेसनका लागि छानिए यी पाँच कम्पनी 

काठमाडौं । लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा प्रदेश स्तरीय पहिलो स्टार्टअप एण्ड आईडिया फेस्ट २०२२ गण्डकी प्रदेशमा सम्पन्न भएको छ ।

शुक्रबार पोखराको न्युरोडस्थित सीटी स्क्वायर बैंक्वेटमा आयोजना भएको उक्त फेस्टमा गण्डकी प्रदेशका करिब ३० ओटा स्टार्टअप कम्पनीहरुले सहभागिता जनाएका थिए ।

फेस्टमै आयोजना भएको आईडिया पिचिङ, मेन्टरिङ तथा एक्सपिरियन्स शेयरिङमा १४ ओटा स्टार्टअप तथा इनोभेटर्स कम्पनीहरुले आफ्नो व्यवसायिक आईडिया प्रस्तुत गरेका थिए । जसमध्ये पाँचओटा कम्पनीहरु हेल्लो हेल्थ क्लिनिक, एकल होम सोल्युसन, सात्विक न्युट्रिन्ट्स, क्वाड गेम, एक्सडेजो कम्पनी  इन्क्युबेसन तथा मेन्टरिङका लागि चयन भएका छन् ।

सो प्रतिस्पर्धामा सात्विक न्युट्रिन्ट्स तथा सात्विक ग्रुप अफ कम्पनी प्रथम भएको छ । प्रथम भएको कम्पनी सात्विक न्युट्रिन्ट्सले राष्ट्र्रिय वाणिज्य बैंकबाट १५ लाखको ऋण अनुदान प्राप्त गर्नेछ ।

सेसनमा पोखराको फूड डेलिभरी ईमकर्श कम्पनीका फूडमुडका सीईओ प्रगत कायस्थ, ईबिमाका प्रवन्ध निर्देशक रोशन ज्ञवाली, सेलेब तथा स्मार्टपालिकाका सीईओ मनोज भट्टराई, बगभीका सीईओ नरेश लाम्गादे, इभालाया टेकका सीईओ बामदेव भण्डारी र रोस्टर लोजीक प्रालीका सीओओ विज्रेन्द रोचन जोशी लगायतका उद्यमीहरुले प्रदर्शनीमा सहभागी स्टार्टअपहरुलाई मेन्टरसिप प्रदान गरेका थिए ।

साथै गण्डकी प्रदेशबाट थालनी भएको प्रदेश स्तरीय सम्वाद पहिलो ‘डिजिटल गण्डकी संवाद’ पनि सम्पन्न भएको छ ।

संवादमा गण्डकी प्रदेशको प्रादेशिक नीति तथा योजना आयोगका उपाध्यक्ष रघु राज काफ्ले, वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँड, क्यान कास्कीका संस्थापक अध्यक्ष जगन बहादुर गुरुङ, पोखरा विश्वविद्यालयका सहायक प्राध्यापक उदयराज ढुंगाना र रोस्टर लोजिकका डेटा विज्ञ ब्रिजेन्द्र रोचन जोशी उपििस्थत थिए ।

साथै कार्यक्रममा गण्डकी प्रदेशका कानुन सञ्चार तथा प्रादेशिक संसदीय मामिला मन्त्रालयका मन्त्री बिन्दु कुमार थापा उपस्थित थिए ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले भने, ‘गण्डकी प्रदेशमा आईटी पार्क निर्माणका लागि काम थालनी गरिसकेका छौं र २ करोड बजेट बिनियोजन गरी डीपीआरको काम अगाडी बढाउने तयारी भईसकेको छ । साथै गण्डकी प्रदेश र स्थानीय निकायहरुको प्रयोजनका लागि आफ्नै डेटा सेन्टर बनाउने काम पनि अगाडी बढिसकेको छ ।’

मन्त्री थापाले प्रदेशको विकास र सुशासनको लागि डिजिटाइजेसन अनिवार्य भईसकेको बताएका छन् । संवाद सेसनमा गण्डकी प्रदेशका सूचना प्रविधि तथा ईगभर्नेन्स विज्ञ विज्ञान राज सत्याल र ला ग्राण्डे इन्टरनेश्नल कलेजका प्रधानाध्यापक ईन्जिनियर किरण केसीले गण्डकी प्रदेशको डिजिटाइजेसनको अवस्था र भावी कार्यदिशाका बारेमा प्रस्तुती दिएका थिए ।

यसबाहेक कार्यक्रममा ईकमर्श कम्पनी फूडमूडका संस्थापक सीईओ प्रगत कायस्थ, सेलेब तथा स्मार्टपालिकाका सीईओ मनोज भट्टराई, ईबिमाका संस्थापक रोशन ज्ञवाली, इन्फोडेभलपर्सका सीईओ सुभाष आचार्यको उपस्थिति थियो । कार्यक्रममा गण्डकी प्रदेशका सूचना प्रविधि तथा उद्यम क्षेत्रका विभिन्न व्यक्तित्व तथा विज्ञहरुको पनि उपस्थिति थियो ।