कुमारी बैंक लिमिटेडले २०औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूका निम्ति विभिन्न अफर सार्वजनिक गरेको छ । चैत २० गते २१औं वर्ष प्रवेश गर्न लागेको बैंकले ग्राहकलाई क्यासब्याक, हेलिकोप्टर टुर र दुबई भ्रमण अफर ल्याएको हो ।
डेबिट र क्रेडिट कार्डका हकमा बैंकको वार्षिकोत्सव अवसरमा चैत २० गते कुमारी बैंक लिमिटेडको कार्डमार्फत पीओएस अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतम २ हजार १०० रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यो अफर एटीएमबाट पैसा झिक्दा भने लागू हुने छैन् । यसैगरी, कुमारी स्मार्ट फोन बैंकिङ एप प्रयोग गरी पहिलोपटक मोबाइल टप अप गर्दा वा चैत २० गते पहिलो क्यूआर भुक्तानी गर्दा अधिकतम २१० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुने बैंकले दाबी गरेको छ ।
वार्षिकोत्सव अवसरमा बैंकले सिम्रिक एअरको हेलिकप्टरमार्फत गोसाइँकुण्ड जाने बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्चभन्दा १२ हजार ५०० रुपैयाँ छुट पनि प्रदान गर्ने जनाएको छ । यो छुटको प्रावधान वार्षिकोत्सवदेखि एक महिनासम्म प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
वार्षिकोत्सवका दिनदेखि सात दिनभित्र कुमारी स्मार्टमार्फत क्यूआर पेमेन्ट, फण्ड ट्रान्सफर अथवा मोबाइल टप अप गर्दा लक्की-ड्रमार्फत एक ग्राहकलाई दुबई भ्रमण उपलब्ध हुने पनि बैंकले जानकारी दिएको छ ।
लक्की-ड्रमार्फत छानिएका विजेताले तीन महिनाभित्र योजनाको उपभोग गर्नुपर्ने र आफूसँग थप एक जनालाई भ्रमणमा लैजान सक्ने पनि बैंकले जनाएको हो ।