कीवर्डहरू -

मधेश प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट, छानिए पाँच कम्पनी 

मधेश प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट, छानिए पाँच कम्पनी 

प्रदेश स्तरीय तेस्रो स्टार्टअप आईडिया फेस्ट तथा डिजिटल सम्वाद ३.० मधेश प्रदेशमा सम्पन्न भएको छ । बुधबार वीरगन्जस्थित भिसवा होटलमा आयोजना भएको उक्त कार्यक्रममा मधेश प्रदेशका करिब २५ स्टार्टअप तथा आईडियाहरु सहभागी भएका थिए ।

फेस्टसँगै आयोजना भएको आईडिया पिचिङ, मेन्टरिङ तथा एक्सपिरियन्स शेयरिङमा स्टार्टअप तथा इनोभेटर्स कम्पनीहरुले आफ्नो व्यवसायिक आईडिया प्रस्तुत गरेका थिए । जसमध्ये ६ ओटा स्टार्टअप तथा आईडियाहरु इन्क्युबेसन तथा मेन्टरिङका लागि चयन भएका छन् ।

चयन हुने कम्पनीहरुमा नेल्पिङ अनलाइन स्टोर, ज्ञान गुरु, डेट पिट्स बेभरेज, टारो गर्ल्स, सोया र ईजी ईट्स नेपाल रहेका छन् । सो प्रतिस्पर्धामा ईजी ईट्स नेपाल प्रथम भएको छ ।

साथै गण्डकी प्रदेशबाट थालनी भएको प्रदेश स्तरीय तेस्रो सम्वाद ‘डिजिटल मधेश सम्वाद’ पनि सम्पन्न भएको छ ।

संवादमा पोखरीय नगरपालिकाकी उपमेयर सल्मा खातुन, डिजिटल इन्टरप्राइज आर्किटेक्ट विवेक एस राणा, वीरगन्ज एनवाईईएफका अध्यक्ष अनुप अग्रवाल र डाइनामिक टेक्नोसफ्टका प्रमुख कार्यकारी अधिकृत दिपक साह प्यानलमा रहेका थिए ।

साथै कार्यक्रममा मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका मन्त्री भरत शाह पनि उपस्थित थिए । कार्यक्रममा पूर्व विज्ञान प्रविधि तथा वातावरण मन्त्री गणेश साह र वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको पनि उपस्थिति थियो ।

संवाद सेसनमा प्रदेशका सूचना प्रविधि तथा ईगभर्नेन्स विज्ञ कृष्ण कुमार शाह र नेश्नल इन्फोटेक कलेज वीरगन्जकी निर्देशक काजले डिजिटाइजेसनको अवस्था र कार्यदिशाका बारेमा प्रस्तुती दिएका थिए ।

यसबाहेक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक मधेश प्रदेश शाखाका प्रमुख अनिरुद्ध उपाध्याय, सन्ध्या सिंह, ईबीमाका सिद्धार्थ बडुवाल, वीरगन्ज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठ, क्यान महासंघका प्रशान्त कुमार, यार्सा ल्याबका योगेन्द्र सुवेदी र क्यान पर्साका प्रमुख आलोक चौरसिया उपस्थित थिए ।