कीवर्डहरू -

विराटनगरमा सोमबार स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुँदै

विराटनगरमा सोमबार स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुँदै

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा वैशाख ५ गते प्रदेश न. १ मा स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सम्वाद कार्यक्रमको आयोजना हुने भएको छ ।

प्रदेशको राजधानी तथा मूख्य शहर विराटनगरको सहिद मार्गस्थित उद्योग संगठन मोरङमा सोमबार सो कार्यक्रम आयोजना हुनेछ ।

विहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुने उक्त कार्यक्रममा विभिन्न ३ फरक सेसनहरु सञ्चालन हुनेछन् । विहान ११ बजेदेखि साँझ ४ बजेसम्म स्टार्टअप, इन्नोभेसन तथा आईडिया प्रद्धर्शनीको कार्यक्रम रहने छ भने समानान्तर समयमा १२ बजेदेखि ३ बजेसम्म आईडिया पिचिङ एण्ड मेन्टरिङ सेसन सञ्चालन हुनेछ । त्यसैगरी बेलुकी ३ देखि ६ बजेसम्म डिजिटल प्रदेश संवाद कार्यक्रमको आयोजना हुनेछ ।

सातै प्रदेशमा आयोजना भइरहेको कार्यक्रम यस अघि पोखरा, बुटवल र विरगञ्जमा सम्पन्न भइसकेको छ । स्टार्टअप एण्ड आइडिया फेस्टले स्थानिय नवप्रवर्तक तथा इन्नोभेटरलाई प्रवद्धन गर्न, आवश्यक लगानी जुटाउन र प्रदेशमै आइटी उद्यमशिलताको विकासको लागि सघाउँ पुर्‍याउने छ ।

हरेक प्रदेशबाट कम्तिमा ५ उत्कृष्ट स्टार्टअप तथा आइडिया छनौट गरी काठमाडौंमा सञ्चालन हुने बिजनेश इन्क्युवेसनमा सहभागी गराइने छ ।

उत्कृष्ट स्टार्टअपले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियतपूर्ण कर्जा प्राप्त गर्नेछन भने आइसिटी अवार्ड २०२२ मा सम्मान प्राप्त गर्नेछन् । उद्यमशिलता विकासको लागि यो कार्यक्रम महत्वपूर्ण प्लेटफर्म हुने आयोजकले विश्वास लिएको छ ।

यसैगरी विराटनगरमा डिजिटल रुपान्तरणको लागि डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुनेछ । स्थानीय, प्रदेश सरकार, निजी क्षेत्र र सरोकारवालाहरुबिच अन्तर्क्रिया हुने कार्यक्रममा २ वटा महत्वपूर्ण कार्यपत्र प्रस्तुत हुनेछन् ।

प्रदेशमा भईरहेको डिजिटल तथा ईगभर्नेन्सका काम, परिवर्तन, अभ्यास, नीति, योजना तथा आगामी कार्यदिशामाथि सम्बन्धित क्षेत्रका सार्वजनिक तथा निजी सरोकारवालाहरुसँग छलफल गरेर डिजिटल ईकोसिस्टमको लागि आधार तयार गर्नु कार्यक्रमको उद्देश्य रहेको कार्यक्रम संयोजक राजन लम्सालले बताए ।

यस कार्यक्रममा सहभागी हुन चाहने स्टार्टअप तथा इन्नोभेटरले निशुल्क स्टल राख्न, पिचङ गर्न तथा मेन्टरिङ सेसनमा सहभागि हुन सक्नेछन् । सोही दिन आयोजना डिजिटल प्रदेश संवाद कार्यक्रमा सहभागिता तथा प्रर्दशनी अवलोकनको लागि पनि कुनै शुल्क लाग्ने छैन् । थप जानकारीको लागि nepalistartup.com वा digitalsamvad.org  हेर्न सकिने छ वा ९८०१२६३६०२ मा सम्पर्क गर्न सकिनेछ ।