कीवर्डहरू -

क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ, बाइनान्सबाट हुन्थ्यो कारोबार 

क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ, बाइनान्सबाट हुन्थ्यो कारोबार 

क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा काठमाडौं उपत्यका अपराघ अनुसन्धान कार्यालयले ३ जनालाई पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा हाल काठमाडौं बस्ने अनुप मिश्र, दिपेश थापा र राहुल चचान रहेका छन् ।  उनीहरूलाई प्रहरीले वैशाख ४ र ५ गते काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्न प्रयोग गर्दै आएको विद्युतीय उपकरणसहित पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यकामा केही व्यक्तिहरु राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम विनिमय, निर्देशन, आदेश विपरित क्रिप्टोकरेन्सीको बित्तिय कारोवारमा सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा निजहरुको निगरानी राख्न यस महाशाखाबाट विषेश टोली परिचालन प्रकाउ गरिएको कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सीहरु बिटक्वाइन, युएसडीटी, सोलना, इथेरियम लगातयका विभिन्न करेन्सीहरुको अबैध कारोबारमा सक्रिय रहेका थिए ।

निजहरुले हालसम्म ६६ करोड ७९ लाख ७९ हजार ९८३ रूपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको छ ।

पक्राउ परेका व्यक्तिहरु मध्ये अनुप मिश्रले सन् २०२१ मे देखि हालसम्म बाइनान्सको अकाउन्ट प्रयोग गरि युएसडिटी, इटिएच, एसएचआईबी, एडीए, भीईटी, अल्फा लगायतका २० वटा क्रिप्टो करेन्सीहरुमा जम्मा ३५ करोड ४६ लाख ८३ हजार ६११.४४ रूपैयाँ बराबरको कारोबार गरेको देखिन आएको र मिश्रको बाइनान्स अकाउन्टमा जम्मा USD १२ हजार ८३२ अमेरिकी डलर बराबरको 0.31736919 बिट क्वाईन मौज्दात रहेको देखिएको प्रहरीले जानकारी दिएको छ ।

अर्का पक्राउ परेका व्यक्ति दिपेश थापाले सन् २०२१ मे देखि हालसम्म २ वटा बाइनान्स खाता मार्फत् बिटीटी, युएसडिटी, डोज लगायतका ७ वटा क्रिप्टो करेन्सीहरु मार्फत् जम्मा २४ करोड ७९ लाख ५६ हजार ९१८ रूपैयाँ बराबरको कारोबार गरेको देखिन आएको छ ।

हाल उनीको बाइनान्स अकाउन्टमा १ हजार ३९९ अमेरिकी डलर बराबरको 0.03601392 बिट क्वाईन मौज्दात रहेको छ ।

पक्राउ परेका राहुल चचानले करिब १ बर्ष अघि देखि हालसम्म २० वटा क्रिप्टोकरेन्सीहरु जम्मा नेपाली रु. ६ करोड ५३ लाख ३९ हजार ४३९.३२ रूपैयाँ बराबरको कारोबार गरेको प्रहरीको भनाइ छ । हाल राहुलको बाइनान्स अकाउन्टमा ६५१ अमेरिकी डलर बराबरको बिट क्वाईन मौज्दात रहेको छ ।

उनीहरूले वानएक्स बेट, हाइपर फण्ड लगायतका अनलाइन प्लेटफर्ममा दैनिक पाँच हजार देखि ५० हजार सम्म युएसडिटीको कारोबार गर्ने गरेको थिए ।

साथै व्यापारिक प्रयोजनका सामाग्रीहरु विदेशबाट आयात गर्दा समेत अनलाइन मार्फत् क्रिप्टोकै रुपमा पेमेन्ट गर्न प्रयोग गर्ने गरेको थिए ।

अवैध भएकाले क्रिप्टोको कारोबार गर्ने व्यक्तिहरुले आफ्नो पहिचान गोप्य राखी अन्य सयौ जना व्यक्तिहरु प्रयोग गरि तीनका नाममा बैंक खाता र बाइनान्स अकाउन्ट खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टो ट्रेड गर्न प्रोत्साहित गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनीहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारवाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको छ ।