कीवर्डहरू -

चिडियाखानाका जनावरका लागि टेलिकमले एक वर्षसम्म आहार प्रायोजन गर्ने

चिडियाखानाका जनावरका लागि टेलिकमले एक वर्षसम्म आहार प्रायोजन गर्ने

नेपाल टेलिकमले सदर चिडियाखाना, जावलाखेलमा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीका लागि एक वर्षसम्म आहारको प्रायोजन गर्ने भएको छ ।

यससम्बन्धी सम्झौतापत्रमा आइतबार नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।

नेपाल टेलिकमको प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुवात भएको बताइन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव अधिकारीले धेरै पर्यटकको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिलाए ।

सम्झौता अनुसार नेपाल टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीका लागि एक वर्षसम्म आहारको व्यवस्थाका लागि रकम उपलब्ध गराउने छ ।