कीवर्डहरू -

बालेनको प्रतिवद्धताः डिजिटल सरकारदेखि अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स प्रतियोगिता आयोजनासम्म

बालेनको प्रतिवद्धताः डिजिटल सरकारदेखि अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स प्रतियोगिता आयोजनासम्म

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएका बालेन शाहले डिजिटल सरकारदेखि होम डेलिभरी सरकारसम्मको योजना अगाडि सारेका छन् ।

बालेनले आफ्नो घोषणापत्रमा प्रविधिलाई प्राथमिकता दिएका छन् । उनले जितेमा सबै वडा र नगरपालिकामा अनलाइन भुक्तानी सुरू गर्ने, जग्गा कर, घर कर, भाडा कर, कम्पनी कर आदिका लागि अनलाइन सेवा सुरू गर्ने, डिजिटल पार्दर्शिता अपनाउने, डिजिटल माध्यमबाट खरिद, टेन्डर प्रक्रिया, बजेटको पार्दर्शिता गर्ने, कार्यापालिकाका महत्वपूर्ण बैठक र निर्णयहरू प्रत्यक्ष प्रसारण गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता तथा अन्य कागजता होम डेलिभरी गरिने बालेको घोषणापत्रमा उल्लेख छ ।उनले घोषणापत्रबाट आईडिया बैंकको अवधारणा पनि अगाडि सारेका छन् ।

अदक्ष जनशक्ति, दक्ष जनशक्ति, लगानीकर्ता र उद्यमशीलता विशेषज्ञहरूको तथ्यांक संकलन गरी रोजगारी र उद्यमशीलताका अवसरहरू उपलब्ध गराउने सहकार्य गरिने बताएका छन् ।

स्थानीय जनताको सीप, प्रविधि सुधार गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिने, सीप उद्यमशीलता प्रशिक्षण दिइने, आविष्कार केन्द्रलाई अनुदान र महानगरमा आविष्कार केन्द्रका शाखा सञ्चालन गर्ने योजना पनि घोषणापत्रमा समेटिएका छन् ।

बालेनले सबै सरकारी कार्यालयमा सीसीटिभी जडान गर्ने पनि प्रतिबद्धता जनाएका छन् । मेट्रो साइबर ब्यूरो स्थापना र डिजिटल साक्षरता प्रवर्द्धन गर्ने कुरा पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

उनले स्वास्थ्य एम्बुलेन्स, पूर्वाधार एम्बुलेन्स, पशु एम्बुलेन्स, फायर बिग्रेड र विपद् जोखिम न्युनिकरण र व्यवस्थापन गर्न कल सेन्टर सञ्चालन गर्ने र प्रकोप चेतावनी अलार्महरूको जडान गर्ने घोषणा गरेका छन् ।

प्रारम्भिक देखि नै सूचना प्रविधिको शिक्षा दिने, शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालिनि गर्ने, सवारीसाधनमा जीपीएस जडान गर्ने, सार्वजनिक सवारीसाधनमा सीसीटीभी जडान गर्ने, महानगरको ट्याक्सी एप सञ्चालन गर्ने, सार्वजनिक यातायात एप र प्रिपेड कार्ड सुरू गर्ने योजना घोषणापत्रमा उल्लेख छन् ।

त्यसैगरी उच्चस्तरीय प्रविधि प्रयोग गरि काठमाडौं महानगरको फोहोर व्यवस्थापन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा ई-स्पोर्ट्स प्रतियोगिता आयोजना गर्ने योजना समेत बालेनको घोषणापत्रमा समेटिएका छन् ।

यस्तो छ घोषणापत्र