कीवर्डहरू -

सञ्चार तथा सूचना प्रविधिको विकासले विश्व नै एक गाउँ भएको छः प्रधानमन्त्री देउवा

सञ्चार तथा सूचना प्रविधिको विकासले विश्व नै एक गाउँ भएको छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले सञ्चार तथा सूचना प्रविधिको विकासले विश्व नै एक गाउँको रूपमा रूपान्तरण भएको बताएका छन् ।

पाँचौ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री देउवाले सञ्चार तथा सूचना प्रविधिको तीव्र विकासले विश्व नै एक गाउँको रूपमा रूपान्तरण भइसकेको बताएका हुन् ।

विश्वब्यापी रूपमा सञ्चार तथा सूचना प्रविधिको प्रयोगले राज्य व्यवस्था सञ्चालन, विकास व्यवस्थापन, सार्वजनिक सेवा, सूचना प्रवाह, सामाजिक अन्तर्क्रिया लगायतका विषयहरूमा आमुल परिवर्तन हुँदै आएको उनको भनाइ छ ।

उनले अगाडि भने, ‘हरेक क्षेत्रमा सञ्चार तथा सूचना प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सकिने नै देखिन्छ ।’

देउवाका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को विषम परिस्थितिमा सञ्चार तथा सूचना प्रविधिको माध्यमबाट कार्य अगाडि बढाउन सचेतना बढाई अधिकतम उपयोग समेत भएको छ ।

सञ्चार तथा सूचना प्रविधिको प्रयोगमा अभिवृद्धि गर्दा सोको गुणस्तर कायम गर्न र यसबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्नुपर्ने आजको आवश्यकता भइसकेको उनको धारणा छ ।

सञ्चार तथा सूचना प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयामहरूको रूपान्तरण गर्न, सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिन, प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाउन आम नागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रूपमा सेवा उपलब्ध गराउन प्रविधि क्षेत्रसँग सम्बन्धित सबैलाई प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

‘सुरक्षित र विश्वसनीय डिजिटल नेपाल निर्माणको अभियानमा सबैले हातेमालो गर्दै अघि बढ्नसमेत विशेष आग्रह गर्दछु,’ प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् ।