कीवर्डहरू -

नेपाली सेनालाई नेशनल आइसिटी अवार्ड

नेपाली सेनालाई नेशनल आइसिटी अवार्ड

नेपाली सेनालाई नेशनल आइसिटी अवार्ड २०२२ (पब्लिक सेक्टर) प्रदान गरिएको छ । राष्ट्रिय आइसिटी दिवसको अवसरमा नेपाली सेनालाई नेशनल आइसिटी अवार्डबाट सम्मान गरिएको हो ।

देशको गौरवसाली संस्था रूपमा रहेको नेपाली सेनाले सूचना प्रविधिको प्रयोगमा उत्तिकै जोड दिएको छ । कागजको न्युनतम प्रयोग तर्फ अघि बढ्दै सम्पूर्ण सेवा र सुविधालाई प्रविधिसँग जोडेको छ ।

प्रविधिमैत्री स्मार्ट आर्मी बनाउने उद्देश्य सहित आइटी महाशाखा यसमा दिनरात लागिपरेको छ । कोभिड १९ को सकंटमा नेपाली आर्मीले फरेन ट्राभलर्स रेकर्ड किपिङ सिस्टम विवरण बुझाउनुपर्ने व्यवस्था गर्दै संक्रमितको निगरानीमा पनि प्रयोग गरिएको थियो । १९ लाखबढीले यो सिस्टममा विवरण बुझाएका छन् ।

कोभिड १९ को समयमा नेपाली सेनाले सबै स्थानिय पालिकासम्म कति संक्रमित कुन अवस्थामा छन् र उनीहरुको आवागमन कस्तो छ भन्नेबारेमा समेत विभिन्न प्रविधिको प्रयोग गर्दै विवरण सिसिएमसीलाई उपलब्ध गराएको थियो ।

यस अघि सन् २०१५ को भूकम्पमा नेपाली आर्मीले क्षतीको सम्पूर्ण विवरण अनलाइन राख्दै मोनिटरिङ गर्ने र उद्धार गर्नुपर्ने अवस्थामा तत्काल संयोजन गर्ने काम गरेको थियो । विभिन्न विपदमा नेपाली आर्मीले प्रविधिमार्फत उद्धार गर्ने र विवरण उपलब्ध गराउने का मगर्दै आईरहेको छ ।

यसैगरी अर्का महत्वपूर्ण सिस्टम रहेको छ, स्मार्ट पेट्रोल । राष्ट्रिय निकुञ्जहरुमा गस्ती गर्दा यस सिस्टमबाट मानिटरिङ गरिन्छ । वन्यजन्तुको जानकारी राख्ने, निरीक्षण भइरहेको लाइभ अपडेट तथा मोनिटरिङ गर्ने तथा तस्करहरलाई निगरानीमा राख्न यो प्रविधि अत्यन्तै उपयोगी भईरहेको छ ।

नेपालका १४ वटै राष्ट्रिय निकुञ्जहरमा यस प्रविधिको प्रयोग भईरहेको छ । यो प्रविधि प्रयोग गर्ने नेपाली आर्मी विश्वकै अग्रणी संस्था हो ।

नेपाली आर्मीले निर्वाचनको अनुगमन गर्न पनि डिजिटल प्रविधिको अधिकतम प्रयोग गरिरहेको छ । संस्थाले नेपालमै पहिलोपटक अनलाइन रिक्रुटमेन्ट सिस्टम विकासगरी प्रयोगमा ल्याइसकेको छ ।

नेपाली आर्मी मातहतमा मुख्य डेटा सेन्टर र सहायक डेटा सेन्टर रहेको छ र उपत्यका बाहिर पनि डेटा सेन्टर सञ्चालनको तयारी भइरहेको छ ।

नेपाली आर्मीले आफ्नै भिडियो कन्फ्रेन्सिङ सिस्टम विकास गरेको छ । सेनाले सूचना प्रविधिको अधिकतम प्रयोग, विकास र इन्नोभेसनमा समेत जोड दिदै आफ्ना सेवा र सुविधालाई प्रविधिमैत्री बनाईरहेको छ ।