कीवर्डहरू -

अब इन्टरनेट बन्द नहुने, भुक्तानीका लागि मन्त्रालयले विदेशी मूद्रा सिफारिस गर्ने

अब इन्टरनेट बन्द नहुने, भुक्तानीका लागि मन्त्रालयले विदेशी मूद्रा सिफारिस गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तराष्ट्र्रिय ब्याण्डविथका लागि डलर सिफारिस गर्ने भएको छ । यससँगै इन्टरनेट सेवामा आउने भनिएको देश्व्यापी संकट रोकिएको छ ।

सोमबार साँझ सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की र इन्टरनेट सेवाप्रदायकहरुहरुको साझा संगठन आईस्पानका पदाधीकारीहरुबीच भएको भेटवार्तामा मन्त्रालयले ब्याण्डविथ भुक्तानीका लागि डलर सिफारिस गरिदिने आश्वासन दिएका हुन् ।

मंगलबार ईदका कारण सार्वजनिक विदा भएको हुँदा बुधाबारबाट प्रक्रिया अगाडी बढ्ने आईस्पानका अध्यक्ष सुधिर शर्माले आशा प्रकट गरेका छन् ।

यसअघि मन्त्रालयले बेरुजुको विषयलाई लिएर अन्तराष्ट्र्रिय ब्याण्डविथका लागि विदेशी मुद्रा सिफारिस रोकेको थियो ।

सोही कारण विगत ६ महिनादेखि इन्टरनेट सेवाप्रदायकहरुले टाटा, एयरटेल तथा सिफी जस्ता अप्सट्रिम सेवाप्रदायकहरुलाई ब्याण्डविथको रकम भुक्तानी गर्न सकेका थिएनन् ।

इन्टरनेट सेवाप्रदायकहरुले हालसम्म करिब ४ अर्ब रुपैयाँ बराबरको रकम ती सेवाप्रदायकहरुलाई भुक्तानी गर्न बाँकी रहेको अध्यक्ष पराजुलीले बताए । उक्त रकम भुक्तानी गर्न नसक्दा अप्सट्रिम सेवाप्रदायकहरुले चुनावको मुखमै ब्याण्डविथ काटिदिने चेतावनी दिदैँ आईरहेका थिए ।

यसबाहेक मन्त्रालयले बेरुजु रकम हटाउन समेत प्रक्रिया सुरु गर्ने आश्वासन दिएको शर्माले बताए । संघीय संसदको सार्वजनिक लेखा समितिले यसअघि नै सपोर्ट चार्ज, वार्षिक मर्मत, प्राविधिक चार्ज तथा मोनिटरिङ चार्ज जस्ता गैर दूरसञ्चार सेवामा आारटीडीएफ र रोयल्ती नलाग्ने देखिएको भन्दै बेरुजु लागत हटाउन निर्देशन दिईसकेको थियो ।
सोही बेरुजु हटाउन अब मन्त्रालयले प्रक्रिया थाल्ने समझदारी भएको हो ।

यससँगै लामो समयदेखि पोल भाडा तथा अप्टिकल फाइबरका विषयमा इन्टरनेट सेवाप्रदायक र विद्यूत प्राधिकरणबीच भईरहेको विवादका लागि समेत मन्त्रालयले सहजीकरण गर्ने पुन आश्वासन दिएको छ । मन्त्रालयले उक्त विषय समाधान गर्न तथा ६ महिना अघि गठित समितिले सिफारिस गरेको प्रतिवेदन लागू गराउन मन्त्रालयले उर्जामन्त्रालयसँग सहकार्य गर्ने भएको हो ।