इसेवा प्रा.लि.को अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा परिचित कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्रबैँक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएको कम्पनीले जनाएको छ।
बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक अनुभव सम्हालेका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज ( हाल स्टान्डर्ड चार्टड ) बैंक लिमिटेडबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए ।
त्यसपछि उनले नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेशनलमा वरिष्ठ पदमा कार्यरत हुँदै बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमइ बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरिसकेका छन् ।
सन् २०२० को जुलाईमा मा ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएका उनले पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न तहका कर्मचारीहरूलाई कर्जा र जोखिम सम्बन्धी तालिम प्रदान गर्दै आएका छन् ।
इसेवामा अध्यक्षको रूपमा आफ्नो कार्यभार संहाल्दै नवनियुक्त अध्यक्ष कुवँरले भने ‘ डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ । डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छ । मैले इसेवाको कर्पोरेट गभर्नेन्स्, रणनीतिक मुल्य र कम्प्लायन्स्को क्षेत्रमा आफ्ना अनुभव सेयर गर्दै कम्पनीलाई अझ धेरै उचाइमा पुर्याउन भूमिका खेल्नेछु ’ ।
आईसीटी समाचार