काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क) मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस) राखिने बताएका छन् ।
बनेपा नगरपालिका–६ बूडोलमा शनिबार शहीद सडकको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भने, ‘आइटी पार्कमा आउँदो वर्ष सेक्युरिटी प्रेस राखिन्छ, यो राष्ट्रिय गौरवको योजना हो ।’ उनले मन्त्रालयअन्तर्गतको उक्त पार्कमा राखिने सेक्युरिटी प्रेसमा पहिलो चरणमा पेपरवेस सेक्युरिट प्रिन्ट गरिने र दोस्रोचरणमा प्रविधि थपगर्दै प्लाष्टिक कार्डवेस प्रिन्टिङ गरिने जानकारी दिए ।
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेसको निरन्तर क्षमता अभिवृद्धि गर्दै नोट, राहदानी, हुलाक टिकट, तथा डिजिटल कार्डलगायतका सामग्री छापिने बताए ।
उनले विकासको काम तीव्रताका साथ अगाडि बढेको बताउनुभयो । ‘विकासले गति लिएको छ’ उहाँले थप्नुभयो, ‘तपाईँहरु ढुक्क हुनुहोस् यो गतिले अब कहिल्यै विश्राम लिने छैन ।’ उनले सडक, विद्यालय, विश्वविद्यालय, अस्पताल, सञ्चार प्रविधि लगायतमा देश समृद्ध बनाउने विकासका काममा सरकार दत्तचित्त रहेको बताए ।
मन्त्री बाँस्कोटाले बनेपा नपाको समग्र विकासमा हाललाई रु ६ करोड दिइएको र केही समयपछि रु चार करोड थपिदिने बताए । कार्यक्रममा प्रदेश नं ३ का सांसद बसुन्धरा हुमागाईंले शहीद मार्गका लागि प्रदेश सरकारले रु ५० लाख छुट्याइएको बताए ।
सो अवसरमा बनेपा नपाप्रमुख लक्ष्मीनरसिंह वादे र नपा उपप्रमुख रेखा दाहालले विकासका हरेक योजनामा गुणस्तरलाई ध्यान दिने बताए ।