कीवर्डहरू -

तृतीय त्रैमासिकमा ४५ करोडले घट्यो नेपाल टेलिकमको खूद नाफा

तृतीय त्रैमासिकमा ४५ करोडले घट्यो नेपाल टेलिकमको खूद नाफा

काठमाडौं । चालू आर्थिक वर्ष २०७८ ७९ को तृतीय त्रैमासिकमा नेपाल टेलिकमको खूद नाफा करिब ४५ करोड रुपैयाँले घटेको छ । टेलिकमका नयाँ प्रवन्ध निर्देशकको पदबाहालीपछि सार्वजनिक भएको पहिलो वित्तिय विवरणमा टेलिकमको खूद नाफा घटेको पाइएको हो ।

गत आर्थिक वर्षको तृतीय त्रैमासिकमा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ रहेको टेलिकमको खूद नाफा चालू आर्थिक वर्षमा ४४ करोड ९१ लख २५ हजार रुपैयाँले घटेर ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले नियामक निकाय दूरसञ्चार प्राधिकरणले लागू गरेको अन्तरआवद्धता शूल्क सम्बन्धी निर्देशिका पालना गर्दा घरेलु अन्तरआवद्धताको शूल्क दर घट्न गई आम्दानी गर्न नसकेको उल्लेख गरेको छ ।

यसैगरी कम्पनीले कोभिडको समयमा ओटीटी प्रयोग बढेका कारण अन्तराष्ट्र्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवा प्रयोगमा समेत कमि आएकोले आम्दानी घटेको उल्लेख गरेको छ ।

यसबाहेक कम्पनीले आफ्नो सेवा विस्तार गर्दा मर्मत सम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि आदिका कारणले पनि व्ययभार बढेर मुनाफामा असर परेको प्रेश विज्ञप्तिमा उल्लेख गरेको छ ।

कोभिड–१९ को महामारीलाई ल्याएका कम दरका डाटा प्याकेजहरुका कारण डेटा खपत बढेपछि राजस्वमा सोही अनुपातमा वृद्धि हुन नसकेको बताएको छ ।

कम्पनीले कोभिड–१९ को महामारीपछि चिपसेटको अभाव तथा अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाई भई शूल्क बढेको कारण उपकरण तथा सामान आयातमा ढिलाई भई अपेक्षित समयमा सेवा विस्तार गर्न नसकिएको बताएको छ ।

चालू आर्थिक वर्षमा कम्पनीको कुल सञ्चालन ७६ करोड ८२ लाख ५९ हजार रुपैयाँ अर्थात २.८ प्रतिशतले वृद्धि भई २८ अर्व २१ करोड ९६ लाख १२ हजार पुगेको छ ।   भने कुल आय ८६ करोड २९ लाख ५६ हजार रुपैयाँ अर्थात २.७२ प्रतिशतले वृद्धि भई ३२ अर्व ५३ करोड ६७ लाख २९ हजार पुगेको छ ।