कीवर्डहरू -

स्मार्ट सहरी प्रविधिका लागि १४२ सुझाव छनोट, उत्कृष्ट सोचलाई ५ लाख

स्मार्ट सहरी प्रविधिका लागि १४२ सुझाव छनोट, उत्कृष्ट सोचलाई ५ लाख

काठमाडौं ।  ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धाका लागि पहिलो चरणमा १४२ सुझाव छनोटमा परेका छन् । सुझाव राख्नका लागि एक महिनाको समय निर्धारण गरिएकामा ४५२ सुझाव संकलन भएका थिए । तीमध्येबाट छनोट गरी १४२ परेका हुन् ।

काठमाडौंको विद्यमान सहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौं महानगरले गत २६ मंसिरबाट सुझाव संकलन गर्न सुरु गरेको थियो । मुख्य गरी समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी चार क्षेत्रलाई प्रतिस्पर्धाका मुख्य विषय बनाइएको थियो ।

विभिन्न चरण गरी आगामी ६ महिनासम्म चल्ने यस प्रतिस्पर्धामा गत ३० पुससम्म पहिलो चरणको सोच दर्ता गर्ने समय दिइएको कामपाको सहरी योजना आयोगका सदस्य–सचिव सरोज बस्नेतले जानकारी दिए ।

यस प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौंका सहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्ने कामपाले जनाएको छ । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुनेछ ।

उत्कृष्ट सोचको आधारमा विजेतालाई ५ लाख पुरस्कार रुपैयाँ प्रदान गरिनेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो ।

त्यस्तै, प्रतिस्पर्धाका चार विषयगत विजेतालाई प्रतिसमूह २ लाख र उपविजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ । सदस्य–सचिव बस्नेतका अनुसार काठमाडौंको समस्या पहिचान गरी निराकरण, नवीन र प्रविधिमैत्री उपायको खोजी गर्न कामपाले ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा, २०७५ सुरु गरेको हो ।