पछिल्लो समय हरेक क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा यसको सुगम कार्यान्वयनका लागि डिजिटल साक्षरता सबैभन्दा महत्वपूर्ण पाटो बनेको छ ।
युवा पुस्तामाझ केही हदसम्म डिजिटल साक्षरता भएको पाइए पनि उल्लेखनीय जनसंख्यिक हिस्सामा अझै पनि यसको पहुँच र चेतना पुग्न सकेको छैन् ।
यसै कुरालाई मध्यनजर गर्दै केही समय अगाडि दक्षिण कोरियाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई आइसिटी बस प्रदान गरेको छ, जसलाई घुम्ती सूचना पहुँच केन्द्र पनि भनिन्छ ।
सडकको पहुँच पुगेका ठाउँमा आइसिटी बसमार्फत आधारभूत डिजिटल साक्षरता प्रदान गर्न सकिन्छ । आइसिटी बसबाट अहिलेसम्म २ सय बढीले आधारभूत डिजिटल साक्षरताको तालिम लिइसकेका छन् भने २ हजार बढीले आइसिटी बस अवलोकन गरिसकेका छन् ।
नेपालमा देखिएको डिजिटल असमानतालाई कम गर्न कोरियाले आइसिटी बस दिएको नास्टकी एआरएफ पुनम झा बताउँछिन् ।
‘यस बसबाट बच्चादेखि वृद्ध सबैले तालिम लिन सक्छन् । यसमा वर्ड, एक्सल, पावरपोइन्ट, सफ्टवेयर इन्स्टल गरी आधारभूत डिजिटल साक्षरतासँग सम्बन्धि विषयको ज्ञान पाउन सकिन्छ ।’ झाले भनिन् ।
यस्तो किसिमको आइसिटी बस सम्भवतः नेपालमै पहिलो भएको उनको भनाइ छ । यसबाट नागरिक स्तरमा मात्र होइन सरकारी कार्यालयका कर्मचारीहरुलाई पनि आईसिटी सम्बन्धि प्रशिक्षण प्रदान गर्न सकिन्छ ।
कुनै संस्थालाई आइसिटी बस आवश्यक परेमा खण्डमा नास्टमा सम्पर्क गर्न सक्ने व्यवस्था छ । यसरी सम्पर्क गरेर प्रक्रिया पुरा गरेपश्चात तोकिएका शर्त बमोजिम बस लिन सकिन्छ । नास्टले हाल आइसिटी बसबाट विभिन्न प्रदेशमा समेत तालिम दिइरहेको छ ।
कस्तो छ आइसिटी बस ?
आइसिटी बस झट्ट हेर्दा अन्य सार्वजनिक बस जस्तै देखिन्छ । तर आइसिटी बसको काम भने पृथक छ । डिजिटल साक्षरताका लागि प्रयोग हुने आइसिटी बसमा जम्मा २० वटा सिट छन् ।
बसमा टच स्क्रिन, ८ जीबी र्याम र एसएसडिसहित १९ वटा ल्यापटप छन्, जसमध्ये एउटा ल्यापटप प्रशिक्षकले प्रयोग गर्छ भने बाँकी १८ वटा प्रशिक्षार्थीहरुले प्रयोग गर्छन् । बसमा इन्टरनेट सुविधा पनि छ ।
यसमा इलेक्ट्रिक पोडियम छ, जसमा टच स्क्रिन सुविधासहित कम्प्युटर पनि राखिएको छ । साउन्ड सिस्टमको व्यवस्था रहेको यसमा प्रोजेक्टर पनि छ । प्रोजेक्टर तालिम दिँदा प्रयोग गरिन्छ । त्यस्तै बसमा फोटोकपी, प्रिन्ट गर्न मिल्ने गरी प्रिन्टर मेसिन पनि राखिएको छ ।
आइसिटी बस सञ्चालनका लागि यसमा जेनेरेटर र युपीएस राखिएको छ । बसमा एसीको सुविधा समेत छ । एसीले बस भित्रको तापक्रमलाई सन्तुलित राख्दछ ।
बस गुडिरहेको समयमा ल्यापटपलाई सुरक्षित राख्न कपबोर्डको व्यवस्था पनि छ । बसभित्र ट्वाइलेटको समेत सुविधा रहेको छ ।