कीवर्डहरू -

सहकारीमा प्रविधि विकासका लागि सहकारी महासंघ र इन्फोडेभलपर्सबीच सहकार्य

सहकारीमा प्रविधि विकासका लागि सहकारी महासंघ र इन्फोडेभलपर्सबीच सहकार्य

सहकारी क्षेत्रमा प्रविधि (टेक्नोलोजी) को विकास र प्रयोगका लागि राष्ट्रिय सहकारी महासंघ र इन्फोडेभलपर्स प्रालिबीच रणनीतिक साझेदारीको घोषणा भएको छ ।

सहकारी व्यवसायलाई मर्यादित र पारदर्शी बनाउँदै सुशासन कायम गर्न प्रविधिको प्रयोगलाई अनुसरण गर्ने गरी महासंघले इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारको रुपमा सम्झौता गरेको हो ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा महासंघका प्रबन्ध निर्देशक चित्रकुमारी थाम्सुहाड सुब्बा र इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष मिनराज कँडेलले सबै प्रकारका सहकारीलाई प्रविधिसँग जोड्न र प्रविधिको पहुँच विस्तार गर्ने आवश्यक रहेकोमा महासंघले सोही अभियान अन्तर्गत इन्फोडेभलपर्ससँग सहकार्य गरेको बताए ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै महाप्रबन्धक सुब्बाले महासंघले डिजिटल सहकारी अभियानका लागि कार्य गरिरहेको र त्यसको एउटा कार्यको रुपमा इन्फोडेभलपर्ससँगको साझेदारी रहेको बताइन् ।

योसँगै अब सहकारीहरूले पनि बैंकिङ क्षेत्रमा जस्तै डिजिटल प्रविधिमार्फत वित्तीय कारोबार गर्न सक्नेछन् । जस्तै, मोबाइल बैंकिङ, ई–बैंकिङ, पे–बैंकिङ सुविधा प्रयोग गर्न सक्नेछन् ।

सहकारी तथा लद्युवित्तलाई मुख्य क्षेत्र बनाएर काम गरेका मुख्य साझेदार इन्फो डेभलपर्स हाल नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीलगायतका लागि महत्वपूर्ण सफ्वेयर निर्माण तथा व्यवस्थापनको काम गरिरहेको बताइएको छ । यस कम्पनीले हाल १ हजारभन्दा बढी सहकारी दर्जनौ लघुवित्त र केहि बैंकहरुलाई सेवा दिइरहेको छ ।