कीवर्डहरू -

राइड शेयरिङ एप इनड्राइभरको सेवा काठमाडौंमा सुरू, छिट्टै देशका प्रमुख शहरमा विस्तार हुने

राइड शेयरिङ एप इनड्राइभरको सेवा काठमाडौंमा सुरू, छिट्टै देशका प्रमुख शहरमा विस्तार हुने

अन्तर्राष्ट्रिय राइड शेयरिङ प्लेटफर्म इनड्राइभरले नेपालको सबैभन्दा ठूलो शहर काठमाडौंमा आफ्नो सेवा शुरु गरेको छ ।

यसबाट रियल टाइम डिल्स(आरटीडी) मोडल मार्फत यात्रुले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरुबाट सोझै काउन्टर अफर पाउन सकिन्छ ।

अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड शेयरिङ एपहरु भन्दा अलग इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रुपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा प्रदान गर्दछ ।

यदि यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरुले चालकको ईटीए, रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्नेछन् ।

चालकले पनि कुनै पनि अर्डर मूल्य तथा दूरी, यात्रुको रेटिङ, पिकअप लोकेशन तथा उक्त यात्रुले यसअघि गरेका इनड्राइभर ट्रिपको सङ्खयाका आधारमा छनोट गर्न सक्नेछन् ।

इनड्राइभर नेपालमा ल्याउन उत्साहित भएको इनड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले बताइन् ।

‘हाल हामीले आफ्नो सेवा काठमाडौं उपत्यकामा सञ्चालन गरिरहेका छौं,’ उनले भनिन्, ‘छिट्टै नै नेपालका मुख्य शहरहरुमा उपलब्ध गराउने छौं ।’

सेवा सुरू गरेको कम्तिमा ६ महिनामा इनड्राइभरले चालकसँग कुनै कमिसन लिने छैन् । त्यसपछि लागू हुने कमिसन काठमाडौंमा चलेका अन्य राइड शेयरिङ सेवा प्रदायकको भन्दा तुलनात्मक रुपले कम हुनेछ ।

इनड्राइभरमा हालसम्म नेपालका ४ हजारभन्दा बढी चालकहरु आवद्ध भइसकेका छन् । राइड रिक्वेस्ट बूक गर्न यात्रुले पिकअप तथा ड्रपअप प्वाइन्ट लगायतका जानकारी तथा अनुमानित शुल्क एपमा प्रविष्ट गर्नुपर्नेछ ।

सिस्टममा रजिस्टर भएका चालकहरुले तुरुन्त नोटिफिकेशन प्राप्त गर्ने र त्यसपछि अर्डर स्विकार गर्ने, अस्विकार गर्ने तथा उक्त यात्राका लागि आफ्नो शुल्क तोक्न सक्नेछन् ।

इनड्राइभरको आरटीडी मोडलले चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा दिँदै शक्ति सर्वसाधारणलाई नै उपलब्ध गराएको छ ।

उदाहरणका लागि, एपमार्फत यात्रुले काठमाडौंको गोगबु बसपार्कबाट ललितपुरको सातदोबाटोसम्म यात्रागर्दा बढीमा २७० रुपैयाँ तथा ठमेलबाट बौद्धनाथ सम्म पुग्न १३० रुपैयाँ मात्र तिर्नुपर्ने हुन्छ ।

इनड्राइभर एउटा ग्लोबल आईटी तथा यातायात प्लेटफर्म हो । इनड्राइभर विश्वकै एउटा सबैभन्दा तीव्र रुपमा वृद्धि भइरहेको अनलाइन राइड हेलिङ सेवा हो ।

यसका सेवाहरु विश्वभरका ४२ देशका ६ सय शहरमा उपलब्ध छन् । कम्पनीको एप १२ करोड पटक डाउनलोड भइसकेको छ ।

इनड्राइभरले अन्तरशहर यातायात, फ्रेट तथा कार्गो सेवा तथा विभिन्न सञ्चालन शहरमा डेलिभरी लगायतका अन्य सेवा पनि प्रदान गर्दछ ।

इनड्राइभरको मुख्यालय क्यालिफोर्नियाको माउन्टेन भ्यूमा रहेको छ भने यसले अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका तथा कमन वेल्थ देशहरुमा क्षेत्रीय हब पनि सञ्चालन गरिरहेको छ । यसले १ हजार ७०० जनालाई रोजगारी दिएको छ ।

२०२१ को शुरुवातमा इनड्राइभरले इन्साइट पार्टनर्स, जनरल क्याटालिस्ट तथा बण्ड क्यापिटलको १५ करोड डलर लगानी सहित यूनिकर्न स्टाट्स प्राप्त गरेको थियो । यो प्रक्रियामा कम्पनीको मूल्यांकन १ अर्ब २३ करोड डलर गरिएको थियो ।