कीवर्डहरू -

फोर्ब्स थर्टी अन्डर थर्टी एशियाको सूचीमा नेपालका ५ जना युवा

फोर्ब्स थर्टी अन्डर थर्टी एशियाको सूचीमा नेपालका ५ जना युवा

फोर्ब्सको थर्टी अण्डर थर्टी एशियामा नेपालका ५ जना युवा पर्न सफल भएका छन् । फोर्ब्सले हरेक वर्ष सार्वजनिक गर्ने  थर्टी अण्डर थर्टी एशियाको सूचीमा यस वर्ष नेपालका ५ जना युवा पर्न सफल भएका हुन् ।

नेपालबाट उक्त सूचीमा अफरिङ ह्याप्पीनेसका संस्थापकद्वय निरज काफ्ले र सन्तोष पाण्डे, इनग्रेल्सका सहसंस्थापक सुजित पाठक, नासा गोडार्ड स्पेस फ्लाईट सेन्टरका पोष्टडकटरल फेलो सुमित ढकाल तथा पुतली नेपालकी प्रबन्ध निर्देशक ऐश्वर्या रानी सिंह परेका छन् ।

रिटेल एण्ड इकमर्श विधाबाट २८ वर्षिय निरज काफ्ले तथा २५ वर्षिय सन्तोष पाण्डे, कन्जुमर टेक्नोलोजी विधाबाट २९ वर्षिय सुजित पाठक, हेल्थ केयर एण्ड साइन्स विधाबाट २७ वर्षिय सुमित ढकाल र सोसल इम्प्याक्ट विधाबाट २८ वर्षिय ऐश्वर्या रानी सिंह पर्न सफल भएका हुन् ।

पाण्डे र काफ्लेले सन् २०१७ मा अफरिङ ह्यापिनेस स्थापना गरेका थिए । अफरिङ ह्यापिनेसले विशेषगरी नेपाल बाहिर बसिरहेका नेपालीहरुलाई जोड्न गिफ्ट डेलिभरी गर्ने गर्दछ । कम्पनीले सप्राइज प्लान गर्न, करपोरेट गिफ्ट गर्न जस्ता कार्य पनि गर्दै आएको छ ।

यी दुई सहसंथापकले सन् २०१८ मा ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड पाएका थिए । अफरिङ ह्यापिनेसलाई सन् २०१९ मा सीड्सस्टार काठमाडौँबाट  बेस्ट स्टार्टअपको उपाधि पनि प्रदान गरिएको थियो ।

अफरिङ ह्यापिनेस सन् २०२१ को नेसनल जियोग्राफिकमा आएको ओन द रूम डक्युमेन्टरीमा फिचर भएको थियो ।

त्यस्तै इनग्रेल्सका सहसंस्थापक सुजित पाठकले सुरुमा इनग्रेल्सलाई शैक्षिक संस्थाहरुलाई विद्यार्थी तथा अभिभावकसँग जोड्न कम्युनिकेसन एपको रुपमा निर्माण गरेका थिए ।

अहिले यही सफ्टवेयर सोलुसनले ८०० स्कुलहरुका लागि डिजिटाइज गरिरहेको छ । कम्पनीका नेपालभर १.६ मिलियन सक्रिय उपभोक्ता रहेका छन् ।

नासा गोडार्ड स्पेस फ्लाईट सेन्टरका पोस्टडक्टोरल फेलो तथा एस्ट्रोफिजिसिस्ट सुमित दाहालले ब्रह्माण्डको उत्पति र विकासको अध्ययनका लागि टेलिस्कोपको विकास गरेका छन् ।

दाहालले चिलीको एटाकामा डेर्जटमा तीन ओटा माइक्रोवेब टेलिस्कोप जडान गरेका छन्, जसले ब्रह्माण्डको उत्पति देखिको माइक्रो रेम्नेन्ट ट्रयाक गर्नेछ । नासामा उनले टेलिस्कोपको एकदमै संवेदनशील सुपरकन्डकटीङ सेन्सरको विकास काम गर्छन् ।

त्यसैगरी ऐश्वर्या रानी सिंहको पुतली नेपाल महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रित गैर–नाफामूलक संस्था हो ।

यसले युवाहरूलाई उनीहरूको समुदायमा प्रशिक्षक बन्न सशक्त र सहज बनाउने गर्दछ । यो संस्था मेन्सट्रुपिडिया कमिक र मेन्स्ट्रुअल कपको विक्रीबाट आएको पैसाले चलिरहेको छ ।

यो संस्था सुरु भएदेखि १ हजार जना मान्छेहरुले मेन्स्ट्रुअल कपको प्रयोग गर्न थालेका छन् । संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा १४ हजार मान्छेहरुलाई प्रशिक्षण दिइसकेको छ ।