कीवर्डहरू -

आईटी विद्यार्थीका लागि ह्वावेको ‘सीड्स फर द फ्युचर’ कार्यक्रम सुरू, यसरी हुनुहोस् सहभागी 

आईटी विद्यार्थीका लागि ह्वावेको ‘सीड्स फर द फ्युचर’ कार्यक्रम सुरू, यसरी हुनुहोस् सहभागी 

ह्वावेले सूचना प्रविधि विद्यार्थीका लागि ‘सीड्स फर दी फ्युचर’ कार्यक्रम सुरू गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा ह्वावेले स्नातक तहका नेपाली आइसिटी विद्यार्थीहरूका लागि उक्त कार्यक्रम सुरु गरेको हो ।

ह्वावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो । यो कार्यक्रम नेपालका सबै आईसीटी सम्बन्धी विषयका स्नातक तहका विद्यार्थीका लागि लागु हुनेछ ।

यो कार्यक्रम पहिलो पटक सन् २००८ मा थाइल्याण्डबाट सुरू भएको थियो । त्यसबेलादेखि १३०  भन्दा बढी देश र १२००० हजारभन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन् ।

यस वर्ष प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका ७ जना विद्यार्थीले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा हुने पहिलो क्षेत्रीय कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

यस वर्ष ह्वावेले यस कार्यक्रमका लागि नेपालमा युनेस्कोसँग पनि साझेदारी गरेको छ । संस्थाले आफ्नो  ‘नेक्स्ट ५०’ अभियान अन्तर्गत विद्यार्थीहरूलाई संलग्न गराउनेछ ।

कार्यक्रमले विद्यार्थीहरूलाई नेपालको आईसीटी उद्योगमा पहिलो अन्तर्दृष्टिहरू प्राप्त गर्ने र बैंककको ९ दिनको यात्रा गर्ने अवसर प्रदान गर्नेछ । बैंककमा विद्यार्थीहरूले फाइभजी, क्लाउड कम्प्युटिङ र एआई लगायत प्रमुख प्रविधिहरूमा प्रवेश स्तरका पाठ्यक्रमहरू प्राप्त गर्नेछन् ।

त्यस्तै अत्याधुनिक आईसीटी विकासहरू बारे जान्न, नयाँ संस्कात सिक्न तथा अनुभव प्राप्त गर्न र ‘टेक फोर गुड’ समूह परियोजनामा भाग लिनेछन् ।

टेक फर गुड परियोजनाको लागि विद्यार्थीहरूले वास्तविक-विश्व वातावरणीय वा सामाजिक समस्याहरू विरुद्ध लड्न मौलिक विचार लिएर आउनु पर्नेछ । यस परियोजनाका विजेता टोलीहरूले पनि अगस्ट २९ देखि  सेप्टेम्बर  २ सम्म सिंगापुरमा आयोजित टेकफोरगुड एक्सेलेटर क्याम्पमा सामेल हुन पाउनेछन् ।

नेपालमा विद्यार्थीहरूले ह्वावे नेपालको कार्यालयको भ्रमण गर्न पाउने छन् । विद्यार्थीले www.seedsnepal.com  मा गई सीड्स फर फ्युचर कार्यक्रममा आवेदन दिन सक्नेछन् । आवेदन दिदा आफ्नो भर्खरको मार्कसिट अपलोड गर्नुपर्नेछ वा यदि नयाँ विद्यार्थी भए कलेजको सिफारिस पत्र आवश्यक पर्नेछ ।

त्यस्तै ५०० देखि ६००  शब्दको प्रेरणापत्र पनि आवश्यक छ । त्यसपछि छनोट समितिले अन्तिम अन्तर्वार्तापछि ७ जनालाई छनोट गर्नेछ ।

त्रिवि इन्जिनियरिङ इन्स्टिच्युटका डिन प्रा.डा. शशिधर राम जोशीले कार्यक्रमको २०२१ संस्करण निकै रोमाञ्चक भएको स्मरण गर्दै गत वर्ष छनोट भएका विद्यार्थीलाई निकै योग्यका रूपमा प्रशंसा गरे ।

‘ह्वावेले नेपालको आईसीटी क्षेत्रमा उदीयमान प्रतिभालाई सहयोग गरिरहेको छ,’ उनले भने, ‘विद्यार्थीहरूका लागि यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा ह्वावेलाई धन्यवाद दिन चाहन्छु, जहाँ उनीहरूले फाइभजी, क्लाउड र एआई बारे सिक्न पाउनेछन्।’

त्यस्तै त्रि.वि. इनोभेसन सेन्टरका निर्देशक प्रा. डा. सुवर्ण शाक्यले नेपालको आईसीटी पूर्वाधार विकासमा ह्वावेले योगदान गरिरहेको बताए ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रफ्टले कार्यक्रमलाई प्रविधि, युवा र सिकाइबीचको अन्तरसम्बन्ध भएको बताए ।

ह्वावे टेक्नोलोजी नेपालका सिईओ विलियम झाङले यस वर्षको कार्यक्रममा नेपालका विद्यार्थीहरुले अझ बढी उत्साहका साथ सहभागिता जनाउने विश्वास व्यक्त गरे ।

सीड्स फर द फ्युचर जस्ता कार्यक्रमहरू मार्फत ह्वावे डिजिटल प्रतिभाहरूको खोजीमा लागेको उनले जानकारी दिए ।