कीवर्डहरू -

नीति तथा कार्यक्रमका डिजिटल एजेण्डालाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध छौंः मुख्यमन्त्री पाण्डे

नीति तथा कार्यक्रमका डिजिटल एजेण्डालाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध छौंः मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमति प्रदेशको नीति तथा कार्यक्रममा समेटिएका सूचना प्रविधि विकासका एजेण्डालाई कडाईका साथ कार्यन्वयन गर्न आफू प्रतिबद्ध रहेको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताएका छन् ।

आईसीटी फाउण्डेसन नेपालको आयोजनामा बागमती प्रदेशमा सम्पन्न डिजिटल बागमती सम्वादमा कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले सम्वाद कार्यक्रममा जेठ १६ मा घोषणा भएको बागमती प्रदेशको नीति तथा कार्यक्रममा समेटिएका सूचना प्रविधि सम्बन्धि डिजिटल एजेण्डाहरुको फेहरिस्त सुनाउँदै कार्यन्वयनमा प्रतिबद्ध रहने बाचा गरेका हुन् ।

प्रदेशको नीति तथा कार्यक्रममा डिजिटल कार्यक्रम अन्तर्गत प्रदेशभित्रका स्वास्थ, शिक्षा, यातायात, कृषि, सहकारी, भुक्तानी, नवप्रवर्तनात्मक खोज तथा अनुसन्धान, सार्वजनिक सेवा प्रवाह आदी क्षेत्रलाई डिजिटाइज गर्ने कुराहरु रहेका छन् ।

जसअन्तर्गत स्वास्थ संस्थाहरुका तथ्यांकलाई व्यवस्थित अभिलेखीकरण गरी डिजिटल स्वास्थ सूचना प्रणाली लागू गर्ने, विद्यालयको शिक्षा गुणस्तर सुधारका लागि विद्यालयमा सूचना प्रविधि प्रयोगशाला तथा विज्ञान प्रविधि प्रयोगशाला निर्माण गरी त्यसको थप विस्तार गरेर लैजाने आदी रहेका छन् ।

यसैगरी प्रदेशभित्रका सम्भाव्यताका  आधारमा ज्ञान ग्राम निर्माण गर्ने, वैज्ञानिक खोज अनुसन्धान परिषद् स्थापना गर्ने, विश्वविद्यालय, नास्ट आदीसँग सहकार्य गरेर विज्ञान तथा नवप्रवर्तनको क्षेत्रमा खोज अनुसन्धान बढाउने, कृषिसम्बन्धि अध्ययन अनुसन्धान र प्रविधि विकासका लागि सहकार्य गर्ने आदी रहेका छन् ।

साथै मूख्यमन्त्रीले सहकारी क्षेत्रको तथ्यांक संकलन गरी व्यवस्थापन समेत गर्ने बताएका छन् ।

प्रदेशभित्र रहेका सम्पूर्ण ट्रायल सेन्टरलाई अटोमेसनमा लैजाने र सार्वजनिक यातायातमा विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था गर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सेवाप्रवाह गर्ने स्थानीय तहलाई मात्र प्रविधिमैत्री बनाएर नहुने भन्दै सेवाग्राहीको पाटोमा पनि त्यसको उत्तिकै पहुँच र उपलब्धता भए मात्र स्थानीय तहको औचित्य पुरा हुने बताए ।