वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चाहनेहरुको भाषा परीक्षा यस वर्षदेखि सीबीटी (कम्प्युटर बेस टेस्ट/युबिटी) अर्थात कम्प्युटर प्रविधिबाट हुने भएको छ । अघिल्लो पटकसम्म पेपर बेसमा हुने परीक्षा अब कम्प्युटर प्रविधिबाट हुने भएसँगै परीक्षार्थीको सहजताका लागि टपिकईपिएस वेभसाइट र मोबाइल एप्लिकेशन सञ्चालनमा आएको छ ।
टपिक इपिएस डटकम (topikeps.com) वेभसाइट र टपिक इपिएस नामको मोबाइल एप्लिकेशनबाट परीक्षार्थीले प्रश्नपत्रको असीमित अभ्यास गर्न पाउने भएका छन् । इपिएस टपिकको यस वर्षको कृषि समूह अन्तर्गतको परीक्षा यही महिनाको १९ गतेबाट सुरु भैसकेको छ भने उत्पादन मुलक तर्फको परीक्षापनि छिट्टै सुरु हुनेछ।
दक्षिण कोरिया सरकारले तोकेको परीक्षाको मापदण्ड अनुसार यसवर्षदेखि पढ्ने र सुन्ने विधिमा मात्र कम्प्युटर प्रविधिमार्फत परीक्षा हुन्छ । परीक्षा हुने विधि अनुसार नै टपिक इपिएस मोबाइल एप र वेभसाइटमा परीक्षार्थीले अभ्यास गर्नसक्नेछन् ।
टपिक इपिएस एप र वेभसाइटमा प्रयोगकर्ताले साइनअप गरेसँगै उनीहरुले परीक्षणका निम्ति निःशुल्क प्रश्नपत्र अभ्यास गर्न पाउँछन् भने सशुल्क रुपमा प्रश्नपत्रहरूको सेट खरिद गरी असीमित अभ्यास गर्न पाउने वेभसाइट र मोबाइल एप्लिकेशनको निर्माता कम्पनी माकुरा क्रियसन्स प्रालिका प्रबन्ध निर्देशक स्वागत भेटुवालले जानकारी दिए ।
उनका अनुसार यस प्रविधि सामान्य प्रयोगकर्ताले मात्र नभई विभिन्न इन्स्टिच्युटहरुले पनि प्रयोग गर्नसक्नेछन् । इन्स्टिच्युटहरुले यस वेभसाइट र मोबाइल एप्लिकेशनमा आफ्नो साखाको सम्बन्ध नलिएर खातामा लगइन गरि विद्यार्थीहरुलाई अभ्यास गराउनसक्ने छन् ।
इपिएस टपिक डटकम वेभसाइट र मोबाइल एप्लिकेशनमा कोरिया सरकारले लिने परीक्षाको ढाँचामा नै परीक्षाको अभ्यास गर्नसकिने भएकाले यो प्रभावकारी हुनसक्ने विश्वभाषा क्याम्पसका कोरियन भाषाका अध्यापक थानेश्वर बञ्जाडेले बताए । कम्प्युटर/युबिटी प्रविधिमा अभ्यास गर्दा परीक्षाका बेलामा झनै सहज हुने बञ्जाडेको भनाइ छ।
यस मोबाइल एप र वेभसाइटको निर्माण माकुरा क्रियसन्स प्रालि र हिमालयन ग्रुप अफ इन्स्टिच्युटले संयुक्त रुपमा निर्माण गरेको हो । इपिएस टपिकको वेभसाइट र एण्ड्रोइड एप सञ्चालनमा आइसेकेको छ भने आइओएस एप्लिकेशन भने केहीदिनमै सञ्चालनमा आउने निर्माणपक्षले जानकारी दिएको छ ।
माकुरा क्रियसन्स एकदशकदेखि सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेको संस्था हो भने हिमालयन ग्रुप अफ इन्स्टिच्यूट भने कोरियाबाट फर्किएका व्यक्तिहरूद्वारा सञ्चालित शैक्षिक लगायत विभिन्न क्षेत्रमा क्रियाशिल भएको छाता संस्था हो।