कीवर्डहरू -

विद्युतीय मतदानको प्रतिवेदन दिन प्रधानमन्त्रीको निर्देशन

विद्युतीय मतदानको प्रतिवेदन दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा विद्युतीय मतदान मसिन प्रयोग गर्नेबारे गरिएको अध्ययन प्रतिवेदन छिटोभन्दा छिटो तयार पार्न निर्देशन दिएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुधबार बुुझ्दै उनले प्रतिष्ठानका पदाधिकारीलाई यस्तो निर्देशन दिएका हुन् । उनले निर्वाचनलाई बढी मर्यादित, स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन भोटिङ मसिन कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषय ज्यादै महत्त्वपूर्ण भएकाले प्रतिष्ठानले यो कामलाई गम्भीरतापूर्वक सम्पन्न गर्नुपर्ने बताए ।

प्रतिष्ठानले निर्वाचन प्रणालीको सुधार, विदेशमा रहेका नेपालीको मताधिकार र भोटिङ मसिन प्रयोगको विश्वसनीयता र सम्भावनाबारे अध्ययन गरिरहेको छ ।

भोटिङ मसिन प्रयोगबारे प्रतिष्ठानको अध्ययन अन्तिम चरणमा पुुगेको प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले जानकारी दिए ।

राजनीतिक दलहरूले विश्वास गर्न सकेको खण्डमा चरणबद्ध ढङ्गले भोटिङ मसिन प्रयोग गर्न सकिने अवस्था रहेको कुरा आफूले प्रधानमन्त्री देउवासमक्ष बताएको डा. उप्रेतीले जानकारी दिए ।

विदेशमा रहेका नेपालीलाई पनि मताधिकार प्रयोग कसरी गराउन सकिन्छ भन्ने विषयमा पनि प्रतिष्ठानले अध्ययन गरिरहेको बताउँदै डा. उप्रेतीले भने, ‘नेपाली नागरिक विश्वका ११३ वटा देशमा छरिएर बसेका देखिएका छन् । ती सबै मुलुकमा भोटिङ मसिन प्रयो ग भएको छैन । अब ती मुलुकमा रहेका नेपाली नागरिकलाई कसरी भोटिङ अधिकार दिने भन्ने विषयमा अझ व्यापक अध्ययन गर्नुपर्ने देखिएको छ । त्यसको टुुङ्गोमा हामी पुगिसकेका छैनौँ ।’ गाेरखापत्र