कीवर्डहरू -

एनसेलले सर्बसाधारणलाई सेयर जारि गर्दै 

एनसेलले सर्बसाधारणलाई सेयर जारि गर्दै 

निजी क्षेत्रकोे दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रूपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरू पब्लिकमा जानुपर्ने भएकाले त्यसैअनुसार तयारी भइरहेको कम्पनीले जनाएको भन्दै आजको गोरखापत्रमा बिश्वास रेग्मीले समाचार लेखेका छन् । 

‘हाम्रो तर्फबाट हुनुपर्ने कानुनीलगायतका तयारी पूरा भइसकेको छ’ नाम उल्लेख नगर्ने सर्तमा कम्पनीका एक अधिकारीले भन्नुभयो, छिट्टै कम्पनी रजिस्ट्रार कार्यालयमा पब्लिक कम्पनीका रूपमा दर्ता गराउँदैछौँ । उहाँका अनुसार दूरसञ्चार ऐन २०५३ मा पनि संशोधनको प्रक्रिया अघि बढेको अवस्थामा सेयर संरचनाका कतिपय विषयमा भने कम्पनीले अझै निर्णय गर्न सकेको छैन तर कानुनमा व्यवस्था भएअनुसार वैशाखभित्र पब्लिक कम्पनीका रूपमा दर्ता हुन्छौँ । 

पब्लिक कम्पनीमा रूपान्तरण भइसकेपछि एनसेलले सर्वसाधारणमा पनि सेयर जारी गर्नुपर्नेछ । पछिल्लो पटक २०७४ सालमा भएको संशोधित व्यवस्थाअनुसार पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनीमध्ये ‘हाल दर्ता भएका प्राइभेट कम्पनीले दुई वर्षभित्र यस दफा९१२० बमोजिम पब्लिक कम्पनीमा परिणत भइसक्नुपर्नेछ, उल्लेख छ ।

२०७४ वैशाख १९ गते प्रमाणीकरण भएको उक्त संशोधन विधेयकका अनुसार अब बढीमा दुई महिनाभित्र त्यस्ता कम्पनीले पब्लिक कम्पनीमा परिणत हुनुपर्नेछ । ऐनमा व्यवस्था भएअनुसार समयसीमा कम रहेकाले छिटै पब्लिक कम्पनीमा दर्ता हुन आवेदन दिने तयारी गरिएको ती अधिकारीले जानकारी दिनुभयो । एनसेलको चुक्ता पुँजी १० करोड रुपियाँ छ । 

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनीका रूपमा रहेको एनसेलले २०६१ भदौ १६ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल सेवा सञ्चालनको अनुमति पाएको थियो । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार एनसेलका हाल एक करोड ६३ लाख मोबाइल प्रयोगकर्ता छन् । कुल दूरसञ्चार बजारमा एनसेलको हिस्सा ४१ प्रतिशत छ । एनसेलले अघिल्लो आर्थिक वर्ष मात्रै ५९ अर्ब रुपियाँ आम्दानी गरेको थियो । 


स्रोत – विश्वास रेग्मी,गोरखापत्र