इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले आईटी पढ्नका लागि तोकिएको कोटा सिस्टम हटाउनु पर्ने बताएका छन् ।
शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभमा आफ्नो प्रस्तुती दिदै उनले विश्वविद्यालयहरुमा आईटी सिटका लागि राखेको कोटा सिस्टम खारेज गर्नुपर्ने बताएका हुन् ।
‘आईटी इन्डष्ट्रीः पावरिङ द डिजिटल नेपाल’ विषयमा प्रस्तुत दिदै रघुवमशीले आईटी कम्पनीको संख्या ग्रोथ प्रत्येक वर्ष २० प्रतिशतले भईरहेको जानकारी दिए ।
‘नेपालमा प्रत्येक वर्ष ७५ सय नयाँ आईटी ग्राडुएट बजारमा आईरहेको छ,’ उनले भने, ‘नेपालको कुल आयातमा आईसीटीले ५-६ प्रतिशत अर्थात ६६ अर्ब ओगटेको छ ।’
त्यस्तै नेपालका १३ प्रतिशत कमपनीले आईटी सफ्टवेयर निर्यात गरेको आगामी दिनमा अझै बढ्ने उनले आशा व्यक्त गरे ।
नेपालबाट करिब दुईसय मिलियन डलर बराबरको सफ्टवेयर निर्मात भइरहेको छ । नेपालमा इन्टरनेट, ब्रोडब्याण्ड र मोबाइल प्रयोगकर्ताको संख्या व्यापक वृद्धि भएको बताए ।
‘अहिले नेपालको कुल ग्राहस्थ उत्पादनको २.२ प्रतिशत योगदान आइसिटी क्षेत्रको छ । अब यो संख्या बढेर २०-३० प्रतिशतमा जानुपर्छ,’ उनले भने ।
डिजिटल नेपालका लागि आईटी उद्योग महत्वपूर्ण भएको उनको भनाइ छ । आईटीका कर्मचारीलाई लक्षित लेबर नीतिको अभाव रहेको र त्यसलाई सम्बोधन गर्न नयाँ नीति बनाउनु पर्ने बताए ।
ट्याक्स होलिडे गर्नुपर्ने र आईटीको लागि छुट्टै सार्वजनिक खरिद ऐन बनाउनु पर्ने समेत बताए ।