सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आईटी शिक्षमा रहेको कोटा प्रणाली हटाउन काम गरिरहेको बताएका छन् । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभमा बोल्दै सविव अर्यालले यस्तो बताएका हुन् ।
‘आइटी शिक्षामा रहेको कोटा प्रणालीलाई हटाउन काम गरिरहेका छौं,’ उनले भने, ‘त्यसमा शिक्षा मन्त्रालयसँग पनि काम गरिरहेका छौं ।’
पूर्वाधार निर्माण, ह्युमन रिसोर्स डेभलपमेन्ट र डेटा सेन्टर विकास लगायतमा पनि काम गरिरहेको उनले जानकारी दिए । जीआईडीसीको डेटा क्षमताले नधानेको भन्दै नेपालगंज र ललितपुरमा थप डेटा सेन्टर बनाउन लागेको उनले बताए ।
पहुँच वृद्धिसँगै गुणस्तरीय सेवामा पनि ध्यान दिनुपर्नेमा अर्यालको जोड छ । अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ९० प्रतिशत काम डिजिटलबाटै हुने गरेको समेत अर्यालले जानकारी दिए ।
निजी क्षेत्रको सहकार्य अत्यन्तै आवश्यक रहेको उनको भनाइ छ । अर्यालका अनुसार कोरोना महामारीले आइसिटीका लागि अवसर दिएको छ । केही वर्षमा हुने डिजिटल परिवर्तन केही समयमै भएको उनको धारणा छ ।
ट्याक्स होलिडे, सार्वजनिक खरिद ऐन सुधार लगायत अन्य सहुलियत जस्ता कुरामा मन्त्रालय छलफल गर्न तयार रहेको उनले बताए ।
एउटै चिठी लिएर दशतिर दौडिनु पर्ने अवस्था अन्त्य गर्न लागेको अर्यालको भनाइ छ । ‘साउन १ गतेदेखि सिंहदरबारभित्र कम्तिमा ६ वटा मन्त्रालय, प्रधानमन्त्री कार्यालय र अन्तर्गतका निकायमा सुरू गर्दैछौं,’ उनले भने, ‘आगामी आर्थिक वर्षभित्र केन्द्रका सबै मन्त्रालयमा लागु गर्छौं । यसले एउटा चिठी लिएर दशतिर जानु पर्दैन् ।’
डिजिटल नेपाल फ्रेमवर्क राम्रो फ्रेमवर्क भएको बताउँदै सचिव अर्यालले फ्रेमवर्क भित्र भएका कम्पोनेन्टलाई परियोजनाको रूपमा लगेर एकीकृत अवधारणामा सञ्चालन गर्ने बताए । डिजिटल नेपाल फ्रेमवर्क सुधार गर्ने कुरामा पनि आफुहरूको ध्यान गएको बताए ।
फ्रेमवर्कका कतिपय कुराहरू परिवर्तन गर्नुपर्ने उनले पनि स्विकार गरे । डुइङ डिजिटलभन्दा पनि बिइङ डिजिटल हुन उनले जोड दिए ।