नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले डिजिटल नेपालको अवधारणा साकार पार्न डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताएका छन् । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभ २०२२ मा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।
डिजिटल नेपाल कन्क्लेभबाट डिजिटल नेपाल फ्रेमवर्कलाई राम्रो फिडब्याक पाउने उनले आशा व्यक्त गरे । आजको कार्यक्रममा डिजिटल नेपाल फ्रेमवर्क २०१९ को कुरा धेरै भएको समेत उनले बताए ।
डिजिटल नेपालको सपनालाई साकार पार्न डिजिटल साक्षरतामा जोड दिनु पर्ने बताए । डिजिटल इकोसिस्टम तयार गर्नुपर्छ । साथै डिजिटल पूर्वाधार र डिजिटल एक्सेस एफोर्डबिलिटी पनि बनाउनु पर्ने बताए ।
श्रेष्ठले अनुसन्धान र विकासमा लगानी गर्नुपर्ने धारणा राखे । नास्टले सिमित स्रोतसाधनमा काम गरिरहेको बताए । निजी क्षेत्र, विश्वविद्यालयसँग पनि सहकार्य गरिरहेको उनको भनाइ छ । ‘नास्ट भनेको सबैको हो । त्यसलाई सदुपयोग गर्न सहकार्यका लागि आह्वान गर्दछु,’ उनले भने ।
नास्ट आफै पनि स्मार्ट नास्ट हुनुपर्छ भन्दै कार्यक्रम अगाडि बढाएको उनले जानकारी दिए । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नास्टले सातै प्रदेशमा स्पेसलाइज्ड रिसर्च सेन्टर स्थापना गर्न लागेको बताए ।