कीवर्डहरू -

सूचना प्रविधिको विकासका लागि नीतिगत सुधार गर्न लगानी बोर्डले पैरवी गर्छः सुशिल भट्ट

सूचना प्रविधिको विकासका लागि नीतिगत सुधार गर्न लगानी बोर्डले पैरवी गर्छः सुशिल भट्ट

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले सूचनाप्र विधि उद्योगका लागि वातावरण बनाउन नीतिगत पैरवी गरिदिने बताएका छन् ।

आइसीटी फाउण्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभमा बोल्दै भट्टले लगानी बोर्ड शक्तिशाली संस्था भएको आधारमा पैरवी गरिदिने बताएका हुन् ।

आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष वैदेशिक लगानीको न्युनतम क्यापलाई ५ करोडबाट घटाएको सन्दर्भ जोड्दै लगानीको क्षेत्रमा पनि सरकारको नीति सही दिशातिर अगाडि बढिरहेको उनले बताए ।

यसैगरी सूचना प्रविधि क्षेत्रका लागि प्रतिकूल वातावरण र नीतिलाई सुधार गर्न आफ्नो संस्थाले पैरवी गरिदिने उनले बताए ।

‘लगानी बोर्ड शक्तिशाली एजेन्सी हो । तपाईहरू छलफल गर्नुस्, अन्तर्क्रिया गर्नुस् । यो दुई दिने कन्क्लेभको उदेश्य पनि यही हो नी ?,’ उनले भने, ‘सूचना मन्त्रालयले गरेन या उद्योग विभागले गरेन या विज्ञान मन्त्रालयले गरिदिएन् । कसैले नगेर हामी गरिदिन्छौं । तर हामीलाई कन्भेन्स चाहिँ गर्नुहोस् । पर्याप्त छलफल, अध्ययन गर्नुहोस् ।’

प्रोजेक्ट आईडिया नोटको टेम्लेट आफुहरूले दिन सक्ने उनले बताए । सूचना प्रविधि क्षेत्रमा राम्रो अवसर भएकाले विदेशी तथा स्वदेशी लगानीकर्ता भित्र्याउन पहलकदमी भइरहेको बताएका छन् ।

‘नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी भित्र्याउनको लागि हामीले पहलकदमी गरिरहेका छौं,’ उनले भने ‘अबको भविष्य नै आइटी क्षेत्र भएकाले सबै मिलेर अघि बढ्नुपर्ने बेला भइसकेको छ ।’

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्ट सूचना प्रविधिको मात्रै विकास नगरेर अन्य पूर्वाधार पनि सँगसँगै अघि बढाउनुपर्ने बताए । उनले नेपालमा ठूला सूचना प्रविधिमा लगानी ल्याउनका लगानी बोर्डले सहयोग, सहजीकरण, समन्वय र सहकार्य गर्ने बताए ।

सूचना प्रविधि बारे अझै बुझ्न डिजिटल नेपाल कन्क्लेभमा सहभागी भएको उनले बताए । आईटीलाई उद्योगको रूपमा घोषित गर्नुपर्ने उनको भनाइ छ ।

‘विश्व बैंकले शुक्रबार डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सहयोग गर्ने समाचार आएको छ । यसले ब्रोडब्याण्डको पहुँच गाउँगाउँमा पुर्‍याउँछ,’ उनले भने ।

एकद्वार प्रणाली वेबमा आधारित हुनुपर्ने उनले बताए । सरकारमा केही भएन भन्ने नभन्न समेत उनले आग्रह गरे ।

‘सरकारले राष्ट्रिय परियोजना बैंक बनाएको छ । बनाएको मात्र छैन् । प्रयोगमा पनि आइसकेको छ । निजी क्षेत्रका लागि पनि सिस्टम बनाइएको छ,’ भट्ट भन्छन् । परियोजना लिएर बोर्डमा छलफल गर्न समेत आउन समेत उनले निम्तो दिए ।