कीवर्डहरू -

संघदेखि प्रदेशसम्मका वित्त प्रणालीबीच रियल टाइम एकीकरण, बजेट खर्च सहज बन्दै 

संघदेखि प्रदेशसम्मका वित्त प्रणालीबीच रियल टाइम एकीकरण, बजेट खर्च सहज बन्दै 

काठमाडौं । देश डिजिटलीकरणको बाटोमा अगाडी बढिरहँदा वित्त प्रणालीमा रहेको एउटा ठूलो समस्या सम्बोधन भएको छ ।

गत आर्थिक वर्षसम्म सरकारको वित्त प्रणालीमा बजेट बनिसकेपछि रियलटाइम खर्च गर्ने कुनै ‘मेकानिज्म’ थिएन, जसकारण बजेट कार्यान्वयनको विभिन्न चरणमा थुप्रै समस्याहरु आउने गर्दथे ।

तर चालू आर्थिक वर्षदेखि यो समस्या समाधान भएको छ । संघीय सरकारको वित्त प्रणालीमा भएका सम्पूर्ण उप प्रणालीहरुबीच चालू आर्थिक वर्षदेखि रियल टाइम एकीकरण स्थापना भएको छ ।

सामान्यतय सरकारको वित्तीय योजना र बजेटको काम सुरुमा अर्थमन्त्रालयको एलएमबीआईएस अर्थात् लाइन मिनिस्ट्री बजेट इन्फोर्मेसन सिस्टमबाट हुन्छ  ।

सरकारी निकायहरुले आफ्नो बजेट निर्माण गरेर अर्थमन्त्रालयका छलफल हुँदासम्मका पाटोमा एलएमबीआइएसमा काम हुने भएकोले कति बजेट कुन शीर्षकमा छुट्याइएको छ । सबैको तथ्यांक एलएमबीआइएसमा हुन्छ । बजेटको खर्चलाई टीएसए सफ्टवेयरले व्यवस्थापन गर्दछ ।

जब कुनै शिर्षकमा खर्चको लागि माग आउँछ, तब अर्थमन्त्रालयको सिगास सफ्टवेयरमा ‘पेमेन्ट रिक्वेस्ट’ जान्छ । यसरी गएको रिक्वेस्टलाई सिगासले टीएसए सफ्टवेयरमा ‘फवार्ड’ गर्दछ, जसमा यो शीर्षकका लागि यति बजेट दिन पर्यो भनी उल्लेख गरिएको हुन्छ ।

सिगासको रिक्वेस्टको आधारमा टीएसएले उक्त शिर्षकका लागि बजेट छ की छैन भनेर एलएमबीआइएसमा चेक गर्दछ । सो शीर्षकमा बजेट भएको अवस्थामा टीएसएले ईएफटीलाई भुक्तानीका लागि निर्देशन दिन्छ र भुक्तानी हुन्छ ।

तर यसअघि यी सिस्टमहरु ‘रियल टाइम इन्टिग्रेटेड’ भएका थिएनन् । यसो नहुँदा बजेटको रियल टाइम डेटा पाउन कठिन थियो । कतै बजेट रकमान्तर भयो वा परिवर्तन भयो भने तुरुन्तै थाहा नहुने समस्या थियो । अब भने यी सम्पूर्ण समस्याहरु समाधान भएका छन् ।

अर्थमन्त्रालयको वित्त प्रणालीलाई रियल टाइम इन्टिग्रेसन गर्ने ड्राई आईस सोल्युसन प्रालीका सीईओ सन्तोष भुसालका अनुसार चालू आर्थिक वर्षदेखि संघीय सरकारको वित्त योजना र बजेट सम्पादनको काम यहीँ प्रणालीमा भईरहेको छ ।

यसरी सिस्टम एकिकरण हुन अघि कुनै पनि शिर्षकको बजेट त्यस अन्तर्गतको जुनसुकै गतिविधिमा खर्च गर्न सकिन्थ्यो । तर प्रणाली एकिकरण भईसपछि अहिले हरेक खर्च, बजेट रकमान्तर तथा परिवर्तन भएको सबै कुरा रियल टाइममा अद्यावधिक हुने गरेको छ । जसकारण खर्च शिर्षक आधारितको सट्टा गतिविधिमा आधारित भएको छ ।

‘अब शिर्षक अन्तर्गत खर्च गर्न पाइन्न सबै खर्च गतिविधि आधारित भएको छ । यो ठूलो उपलब्धी हो,’ भुसालले भने, ‘जुन शिर्षकमा बजेट राखेको छ त्यसमै मात्र खर्च गर्न पाउनुपर्छ भनेर नयाँ टीएसए बनायौं । अहिले अकाउन्टिङ सिस्टमले चेक भुक्तानी गर्न अनुरोध गर्योभने उक्त गतिविधिका लागि पैसा छ की छैन चेक गरेर मात्र खर्च दिन ईएफटीलाई निर्देशन दिन्छ ।’

चालू आर्थिक वर्षमा ड्राईआईसले संघमा यसको कार्यान्वयन गरेको छ भने चालू आर्थिक वर्षमा प्रदेशको सिस्टमलाई एकिकरण गरी हस्तानतरण गरिसकेको छ ।

अहिले प्रदेशको एलएमबीआइएस र टीएसए लाइभ भईसकेको छ । यसवर्ष प्रदेशले आफ्नो बजेट यसै प्रणालीबाट निर्माण गरेको भुसालले बताए ।

‘प्रदेशमा पनि हामीले पुरानो सिस्टमलाई नयाँले विस्थापित गरेका छौं । यसपालीको बजेट नयाँ सिस्टममा बन्यो । जनशक्तिलाई हामीले पहिलेदेखि प्रशिक्षण दिएर तयार गरेका गरेका थियौं अब यस वर्षदेखि प्रदेशको पनि सबै वित्त प्रणाली रियल टाइममा जानेछ ।’

सरकारले प्रयोग गर्दै आईरहेको एलएमबीआईएस र टीएसए प्रणालीलाई २००१ मा ड्राईआईस सोल्युनले आफै निर्माण गरेको थियो । पुरानो प्रविधि भएको कारण यी सिस्टमहरु एकदमै सिमित ब्राउजरमा मात्र चल्दथे र जाभा फाइल मात्र यसमा चलाउन मिल्थ्यो ।

तर अहिले प्रणाली परिवर्तन भएपछि सबै सहज भएको छ । नयाँ प्रणाली थप सुरक्षित, प्रयोगकर्तामैत्री बनेको भुसाल बताउँछन् । खर्च गरेका विवरणहरु रियल टाइममा हेर्न तथा निरिक्षण गर्न सकिन्छ ।

सन् २००१ मा स्थापना भएको ड्राईआईस सोल्युसनले लामो समयदेखि सरकारका विभिन्न प्रणालीहरु निर्माण गर्दै आईरहेको छ । साथै यस कम्पनीले स्वास्थ्य तथा फिनटेकको क्षेत्रमा समेत काम गर्दै आईरहेको छ ।