कीवर्डहरू -

नयाँ उद्योग दर्ता, नवीकरण, स्वदेशी विदेशी लगानी स्वीकृत अब अनलाइनबाटै

नयाँ उद्योग दर्ता, नवीकरण, स्वदेशी विदेशी लगानी स्वीकृत अब अनलाइनबाटै

नयाँ उद्योग दर्ता, नवीकरण, स्वदेशी विदेशी लगानी स्वीकृत अब अनलाइनबाट हुने भएको छ । उद्योग विभागले बुधबारदेखि सबै सेवा अनलाइनमार्फत सुरु गर्नेगरी सफ्टवेयर सार्वजनिक गरेको हो ।

विभागलाई ‘डिजिटलाइजेसन’मा लैजाने प्रक्रियाअन्तर्गत ‘इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईएमआईएस) सफ्टवेयर सार्वजनिक गरिएको हो ।

सो सफ्टवेयरमार्फत नयाँ उद्योग दर्तादेखि स्वीकृति लिनेसम्म अनलाइनबाटै गर्न सकिनेछ भने पुराना उद्योगको नवीकरण, अद्यावधिक, पुँजी वृद्धिलगायतका कार्य पनि गर्न सकिनेछ ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले सेवालाई आधुनिक र प्रविधियुक्त बनाउन परीक्षणका रूपमा आईएमआईएस सफ्टवेयर प्रणाली शुभारम्भ गरिएको जानकारी दिए ।

‘प्रारम्भिक रूपमा अहिले सुरु गरेका छौँ । एक/डेढ महिनापछि पूर्ण रूपमा सञ्चालनमा आउनेछ,’ उनले भने ।

नयाँ उद्योग दर्ता, नवीकरण, प्रशासनिक काम, निर्यातमा नगद अनुदान, स्वदेशी विदेशी लगानी स्वीकृतदेखि विभागबाट हुने सबै काम अनलाइनबाटै गरिने उहाँले स्पष्ट पारे ।

परीक्षणका रूपमा काम सुरु गरिएकाले केही समस्या आए तत्काल समाधान गरिने र केन्द्रमा सफल भएपछि दोस्रो चरणमा प्रदेशअन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयलाई एकीकृत रूपमा अनलाइनमा जोडिने उनले जानकारी दिए ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घको उद्योग समितिका सभापति भरत आचार्यले अनलाइन प्रणाली कार्यान्वयन गर्न सहयोग गर्ने बताउनुभयो । सरकारी कार्यालयमा सेवा अनलाइन गरे पनि कागजात लिएर कार्यालय नै धाउनुपर्ने अवस्था सिर्जना भएको उनले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष मोहन कटुवालले लघु तथा घरेलु उद्योगी व्यवसायीलाई सहज हुनेगरी सेवा विस्तार गर्नुपर्ने बताए । अनलाइन प्रविधिलाई आवश्यक पर्ने पूर्वाधार तयार गरी प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । गोरखापत्र