अर्काको नागरिकताबाट सिम कार्ड निकालेर बैंक खाताको पैसा झिक्ने हेटौंडाका एकजना पक्राउ परेका छन् ।
सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गरेको अभियोगमा मकवानपुरको हेडौंडा उपमहानगरपालिका १७ ठेगाना भएका ४१ वर्षीय गोपी बजगाईलाई काठमाडौं महानगरपालिका ३१ नयाँबानेश्वरबाट विहीबार प्रहरीले पक्राउ गरेको हो ।
उनले सामाजिक संजाल फेसबुक तथा ह्वाट्सएपमा वैदेशिक रोजगारको लागि पोर्चुगल लैजान ११ लाख रुपैयाँ लाग्छ भन्दै पीडित व्यक्तिहरुको सक्कल राहदानी, नागरिकता, सम्पत्ति विवरण कागज समेत लिई झुक्याई पीडितको नागरिकताबाट अर्को सिमकार्ड निकालेका थिए ।
त्यसपछि बैंक खाता समेतमा पहुँच राखी मोबाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।