कीवर्डहरू -

नेपालको पहिलो हेल्थ ह्याकाथन ललितपुरमा आयोजना हुँदै, यसरी जनाउनुहोस् सहभागिता

नेपालको पहिलो हेल्थ ह्याकाथन ललितपुरमा आयोजना हुँदै, यसरी जनाउनुहोस् सहभागिता

काठमाडौं । स्वास्थ क्षेत्रमा देखिएका विभिन्न अभाव तथा समस्याहरुको डिजिटल समाधान खोज्न वीपी कोईराला स्वास्थ प्रतिष्ठानले ‘ह्याकाथन फर हेल्थकेयर’ कार्यक्रम आयोजना गर्दैछ ।

प्रतिष्ठानको ‘ई हेल्थ एण्ड टेलिमेडिसिन युनिट’ ले यहीँ जुलाई २९ र ३० गते ललितपुरस्थित इन्ट्रान्स क्याफेमा सो ह्याकाथनको आयोजना गर्दैछ ।

ई हेल्थ एण्ड टेलिमेडिसिन युनिटले केही समयदेखि आफ्नो वेबसाइटमार्फत स्वास्थ क्षेत्रमा देखिएका विविध समस्याहरु संकलन गर्दै आईरहेको थियो ।

सोहीमध्ये सातओटा समस्यालाई पहिचान गरी एकल डिजिटल प्लेटफर्ममार्फट तिनैको समाधान खोज्न ह्याकाथनको आयोजना गर्न लागिएको ईहेल्थ एण्ड टेलिमेडिसिन युनिटका मेडिकल कोअर्डिनेटर तथा डिपार्टमेन्ट अफ जनरल प्राक्टिस फर इमरजेन्सी मेडिसिनका सहायक प्राध्यापक डा. प्रमिन्द्र प्रसाद गुप्ताले बताएका हुन् ।

ह्याकाथन फर हेल्थकेयर कार्यक्रममा प्रतिस्पर्धा गर्न चाहाने इच्छुकले निम्न सात समस्यालाई ध्यानमा राखी एकल समाधानस्वरुप डिजिटल प्लेटफर्म वा एप्लिकेसनको निम्न अनुसार प्रोटोटाइप तयार गर्नुपर्नेछ ।

१. डिजिटल युगमा चिकित्सकलाई विरामी केन्द्रित भएर उपचार गर्न सिकाउने प्रणाली

२. वृद्ध रोगीहरुलाई अस्पताल आवतजावत गर्दा सहज बनाउन सक्ने प्रणाली

३. न्युन स्रोतसाधनमा पनि स्थानीय जनस्वास्थ केन्द्रहरुलाई बलियो र प्रभावकारी बनाउन सघाउने प्रणाली

४. ओटीटीमा स्वास्थ शिक्षा प्रदान गर्ने प्रणाली

५. स्वास्थ क्षेत्रको समग्र प्रणालीलाई एकिकरण गर्ने

६. चिकित्सकहरुका लागि छलफल फोरम र

७. ब्रोकाडिलेटर विधिको बढ्दो प्रयोगमाझ टेलिमेडिसिनलाई उपयोग गर्न सघाउने प्रणाली आदी

ईच्छुकहरुले यस लिंक मा गएर सहभागिताका लागि दर्ता गराउन सक्छन् ।

कुनै निश्चित समस्यामा रुची राख्ने व्यक्तिले दर्तामा उक्त कुरा खुलाउन सक्ने छन् । सहभागीहरुबाट आयोजकले पाँच पाँचजना सदस्यको टोली निर्माण गरी प्रतिस्पर्धामा उतार्ने छ ।

कार्यक्रमको पहिलो दिनबाट सोल्युसनको प्रोटोटाइप निर्माण गरी दोस्रो दिन निर्णायक मण्डलीसामू प्रस्तुत गर्नुपर्नेछ । कार्यक्रममा प्रस्तुत भएका मध्ये उत्कृष्ट तीन आईडियालाई आयोजकले छनौट गर्नेछन् । यी आईडियालाई मूर्तरुप दिन ‘आईडियटर’ टोली तथा ‘भेण्डर’ सँग छलफल गरी त्यसलाई  विकास गरिने डा. गुप्ता बताउँछन् ।

आयोजकले प्रथम टिमलाई ६० हजार, दोस्रोलाई ४० हजार र तेस्रोलाई २० हजार रुपैयाँको पुरस्कार राशी प्रदान गर्ने बताएको छ ।

नेपालको सार्वजनिक स्वास्थ क्षेत्रमा यो पहिलो ह्याकाथन भएको गुप्ताले बताए । यस प्रकारको पहलकदमी प्रतिष्ठानलले लिए पनि यसबाट बनेको एप्लिकेसन सोल्युसनलाई भने प्राथमिक जनस्वास्थ संस्था, निजी तथा सार्वजनिक अस्पताल सबैले प्रयोग गर्न पाउने आयोजक गुप्ताले बताए ।

ह्याकाथनमा सहभागिता जनाउन आयोजकले कुनै पनि किसिमको योग्यता तय गरेको छैन् ।

प्रतिस्पर्धामा सहभागी हुन चाहाने इच्छुकहरुले २० जुलाईभित्र दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।