कीवर्डहरू -

अब अनलाइनमै बाघचाल खेल्न सकिने, सातवर्ष अघि बन्द भएको ‘बाघचाल डटनेट’ यसरी भयो पुनर्जीवित

अब अनलाइनमै बाघचाल खेल्न सकिने, सातवर्ष अघि बन्द भएको ‘बाघचाल डटनेट’ यसरी भयो पुनर्जीवित

बाघचाल, सानो छँदा तपाईहरू धेरैले खेल्नु भएको होला । रणनीतिक चालका साथ खेलिने बाघचाल खेलमा ४ वटा बाघ र २० बाख्रा हुन्छन् ।

यस खेलमा बाघले बाख्राको शिकार गर्न खोज्छ भने बाख्राहरुले पनि आफ्नो प्रतिरक्षा गर्दै, चलाखीपूर्ण ढंगले बाघलाई आफ्नो क्षेत्रभित्र ल्याएर घेराबन्दीमा हाली शिकार गर्छन् । वास्तवमा बाघचाल नेपालको रैथाने खेल र हाम्रो संस्कृति हो ।

पहिले पहिले बाघचाल चौतारीमा बसेर खेलिन्थ्यो तर पछिल्लो समय बाघचाल खेल्ने प्रचलन हराउँदै गएको छ । नयाँ पुस्तालाई यो खेलको बारेमा थाहा पनि छैन् ।

नेपालको रैथाने खेल बाघचाललाई पुनर्जीवित गर्न काठमाडौंका भुपाल सापकोटाले अनलाइनबाटै बाघचाल खेल्न मिल्ने वेबसाइट बाघचाल डटनेट पुनः सार्वजनिक गरेका छन् ।

कम्प्युटर प्रोग्रामर समेत रहेका उनले सन् २०१२ मा यस गेमलाई सार्वजनिक गरी अनलाइनबाट खेल्न सकिने सुविधा दिएका थिए तर उक्त वेबसाइट सन् २०१५ सम्म मात्र चल्यो । रोजगारीका लागि सापकोटा विदेशिनु परेपछि राम्ररी चलिरहेको बाघचाल डटनेट बन्द हुन पुग्यो ।

‘म नेपाल बाहिर थिए । त्यसपछि हेर्ने मान्छे भएन् र बन्द भयो,’ सापकोटाले आइसिटी समाचारसँग भने । आफैले सुरू गरेको परियोजना बाघचाल डटनेटलाई त्यत्तिकै छाड्ने उनको इच्छा थिएन् ।

कतै न कतै यसलाई पुनः सुरू गर्ने हुटहुटी सापकोटाको मनमा थिए । त्यही हुटहुटीले गर्दा  ७ वर्षअघि बन्द भएको बाघचाललाई उनले पुन सुरु गरे । यसपटक यसलाई परिमार्जन गरेर एक महिनाअघि सार्वजनिक गरेका हुन् ।

यसलाई परिमार्जन गरेर एक महिनाअघि पुनः सार्वजनिक गरिएको छ । अब बाघचालले पुनः पहिले झैँ प्रयोगकर्ताहरुको माया र नयाँ पहचिान पाउनेमा उनी आशावादी छन् ।

यसमा अकाउन्ट नबनाएर पनि बाघचाल खेल्न मिल्छ । तर अकाउन्ट नबनाए, आधारभूत तह मात्रै खेल्न मिल्छ । यदी तपाईले अकाउन्ट बनाउनु भयो भने मध्यम तहको बाघचाल खेल्न सक्नुहुन्छ भने अन्य अनलाइन प्लेयरसँग पनि खेल्न सक्नुहुन्छ ।

बाघचाल डटनेटमा च्याट गर्दै गेम खेल्न सकिने उनले जानकारी दिए । ‘यसमा आफुले खेलेका गेमहरू सेभ भएर बस्छन् । गेमहरूको रिप्ले पनि हेर्न सकिन्छ,’ उनी भन्छन्, ‘रिप्लेबाट सिकारू खेलाडीहरू सिक्न सक्छन् । रिप्ले वेबसाइटमा गएर, जसले पनि हेर्न सक्छ ।’

अहिलेसम्म वेबसाइटमार्फत २ हजार बढीले बाघचाल खेलेका छन् । बाघचाल गेमको एउटा मापदण्ड बनाउने आफ्नो योजना रहेको उनले सुनाए ।

‘अहिले धेरैले बाघचाल गेम बनाएका छन् । बाघचाल गेमको एउटा मापदण्ड बनाउन अनलाइन बाघचाल एक्सडचेन्ज लोकेसन बनाउँदै छु । यो भएमा अरूले बनाएका सिस्टमलाई पनि हाम्रोमा एकीकृत गर्न सकिन्छ । अरू डेभलपरसँग काम गरेर यसलाई अगाडि बढाउँदै छु,’ उनले भने ।’

अहिले वेबसाइटबाटै गेम खेल्न मिल्ने भएपनि अब विस्तारै मोबाइल एप सार्वजनिक गर्ने योजना सापकोटाको छ । यसलाई अहिले सापकोटाले साइड प्रोजेक्टको रूपमा अगाडि बढाइरहेका छन् ।