कीवर्डहरू -

एमआरपी पोसपोर्टको म्याद एक वर्षभन्दा कम भए मात्रै ई-पासपोर्ट बनाउन पाइने

एमआरपी पोसपोर्टको म्याद एक वर्षभन्दा कम भए मात्रै ई-पासपोर्ट बनाउन पाइने

एमआरपी पोसपोर्टको म्याद एक वर्ष भन्दा कम भए मात्रै अब ई-पासपोर्ट बनाउन पाइने भएको छ । राहदानी विभागले मंगलबार एक सूचना जारी गर्दै एमआरपीको म्याद १ वर्षभन्दा कम भएमा मात्र राहदानी नविकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने जानकारी दिएको हो ।

हाल केही सेवाग्राहीहरुले यन्त्रवाचक राहदानी (एमआरपी) को बहाल म्याद १ वर्षभन्दा बढी रहेको अवस्थामा पनि विभिन्न एजेन्सीहरुले २ वा ३ वर्ष भन्दा बढी बहाल म्याद भएको राहदानी उपलब्ध गराएमा मात्र विदेश जान भीसा सम्बन्धी प्रक्रिया अघि बढाउने जानकारी दिएकोले नयाँ विद्युतीय राहदानी बनाउनु पर्ने भनी विभागमा आवेदन दिन आउने र नयाँ राहदानी बनाइदिन अनुरोध गर्ने गरेको पाइएको छ ।

राहदानी ऐन, २०७६ को दफा (१२) मा राहदानी बाहकको नाममा जारी भएको राहदानीको बहाल अवधि १ वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी जारी नगर्ने व्यवस्था रहेको छ ।

राहदानी ऐन अनुसार राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नविकरण नहुने तथा नयाँ राहदानीको लागि आवेदन गर्न नसकिने भएकोले राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा आवेदन नलिन विभागले अनुरोध गरेको छ ।

एमआरपीको बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नविकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने विभागले प्रस्ट पारेको छ ।

राहदानीको वहाल म्याद ६ महिना भन्दा बढी भएमा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिन्छ । राहदानी आफूलाई आवश्यक नहुदाको अवस्थामा बहाल म्याद १ वर्ष भन्दा कम वा बहाल म्याद समाप्त भएपनि तुरुन्त बनाउनु पर्दैन् भने यसरी नबनाउँदा कुनै अतिरिक्त शुल्क लाग्दैन् ।