कीवर्डहरू -

एमडीएमएसः समयमै काम नभएपछि परामर्शदाताको बैंक खाता रोक्का, क्षतिपूर्ति लिएर काम गराउन सुझाव

एमडीएमएसः समयमै काम नभएपछि परामर्शदाताको बैंक खाता रोक्का, क्षतिपूर्ति लिएर काम गराउन सुझाव

नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिम्टम (एमडीएमएस) सञ्चालनमा ल्याएको थियो । तर अझैसम्म उक्त सिस्टम पूर्ण रूपमा लागु हुन सकेको छैन् ।

मोबाइल डिभाइस व्यवस्थापन प्रणालीको डिजाइन, सप्लाई, इन्स्टलेसन, कमिसनिङ्ग र अपरेसनसमेतका लागि प्राधिकरणले २०७६ असार १९ गते एक अन्तर्राष्ट्रिय परामर्शदातासँग सम्झौता गरेको थियो ।

महालेखाको ५९ औं प्रतिवेदनमा भनिएको छ, ‘मोबाइल डिभाइस सुरक्षित गर्न र अवैध मोबाइल आयातमा नियन्त्रण गर्ने उद्देश्यले प्राइमरी साइट कन्टेनर र सो भित्र जडान हुने मोबाइल डिभाइस व्यवस्थापन प्रणालीको डिजाइन, सप्लाई, इन्स्टलेसन, कमिसनिङ्ग र अपरेसनसमेतको कार्य गर्न एक अन्तर्राष्ट्रिय परामर्शदाता उपक्रमसँग सम्झौता मितिले ६ महिनाभित्र सम्पन्न गर्ने र ५ वर्षसम्मको सपोर्ट समेतको लागि २०७६ असार १९ मा अमेरिकी डलर ७० लाख ६६ हजार ८८८ को हुने रू.८८ करोड ३३ लाख ६१ हजारको सम्झौता भएको छ । सेकेन्डरी डाटा सेन्टरको हार्डवेयर खरिद तथा जडानबापत परामर्शदातालाई रू. ३ करोड ६८ लाख ६४ हजार भुक्तानी गरेको छ ।’

तर तोकिएको अवधिभित्र काम सम्पन्न नभई अन्तिम पटक २०७८ फागुन ३ सम्मको म्याद तोकिएकोमा उक्त अवधिभित्र पनि सम्झौताअनुसारको प्राइमरी साइट कन्टेनर लगायतका उपकरण प्राप्त नभएपछि प्राधिकरणले २०७९ वैशाख १९ गते परामर्शदाता जेभीको बैङ्क खाता रोक्का गरेको छ ।

आपूर्तकको ढिलाइको कारणबाट तोकिएको अवधिभित्र काम सम्पन्न नगरेकोले प्रचलित कानून र सझौताअनुसार पूर्वनिर्धारित क्षतिपूर्ति लिई कार्य सम्पन्न गराउनुपर्ने महालेखाको सुझाव छ ।

आपूर्तकसँगको सम्झौताको दफा ४५.१ मा तोकिएको अवधिमा काम सम्पन्न नगरेमा सम्झौता रकमको ०.०५ प्रतिशत प्रतिदिन पूर्वनिर्धारित क्षतिपूर्ति लिनुपर्ने उल्लेख छ ।