कीवर्डहरू -

ईस्पोर्टसका लागि छुट्याइएको १ करोड कुनै अमुक संस्था वा खेलका लागि होइनः मेयर बालेन

ईस्पोर्टसका लागि छुट्याइएको १ करोड कुनै अमुक संस्था वा खेलका लागि होइनः मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले ईस्पोर्ट्सको नाममा रुटिन अफ नेपाल बन्दलाई १ करोड रुपैयाँ बजेट दिएको समाचारको खण्डन गरेका छन् ।

महानगरले ई स्पोर्ट्सका लागि घोषणा गरेको उक्त बजेट कुनै पनि अमुक संस्थाका लागि नभएको भन्दै पत्रकारिताको मर्यादाभित्र रहेर सूचना सम्प्रेश्रण गर्न उनले अनुरोध गरेका छन् ।

ईस्पेर्ट्सका लागि १ करोड बजेट छुट्याएको घोषणा गरेँसँगै उक्त विषय विवादमा आएपछि बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनले उक्त विषयमा स्पष्टिकरण दिएका हुन् ।

महानगरले बजेटमार्फत ईस्पोर्ट्सका लागि १ करोड रुपैयाँ छुट्याएपछि सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा मेयर शाहले घुमारौं बाटोबाट आफ्नो चुनावी अभियानमा सहयोग गर्ने फेसबुक पेज रुटिन अफ नेपाल बन्द तथा प्रतिष्ठित नेपाली पब्जि क्लब डीआरएसका सीईओ भिक्टर पौडेललाई सो रकम उपहार दिन खोजेको आरोपहरु लगाएका थिए ।

उक्त समाचारहरुको खण्डन गर्दै मेयर शाहले उक्त रकम कुनै अमुक संस्था वा खेलका लागि नभएर समग्र ईस्पोर्ट्स खेलको प्रवर्द्धन र खेलाडीहरुको प्रोत्साहनका लागि महानगरले विनियोजन गरेको बताएका छन् ।

शाहले लेखेका छन्, ‘ईस्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ईस्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दैछ भने यहि बर्ष हुने एसियाली खेलमा ईस्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई(स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।’

शाहले उक्त बजेटको कार्यान्वयन कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले  हुने बताएका छन् । तर बजेट कसरी बिनियोजन गर्ने भनेर उनले खुलाएका छैनन् ।