कीवर्डहरू -

कर्मठले देख्नुभएको सपना

आइटी इकोसिस्टम बनाउने सन्दर्भमा नेपाल सरकारका धेरै पोलिसी बनाउन हामीले सँगै काम गरेका थियौं

कर्मठले  देख्नुभएको  सपना

हेमपाल श्रेष्ठ
[email protected]

अझै विश्वास गर्न सकिरहेको छैन । आइटी क्षेत्रका लागि उदाहरणीय व्यक्तित्व मेरा हितैषी मित्र कर्मठ डंगोलको भौतिक शरीर अब हामीसामु छैन । यी शब्द लेखिरहँदा पनि अपत्यारिलो लाग्छ । तर भावीको खेल, हामीले चाँडै उहाँलाई गुमाउनुप¥यो । नेपालको आइटी क्षेत्रले उहाँलाई सधैं सम्झिरहनेछ । उहाँको निष्ठावान् व्यक्तित्वप्रति सम्मान समर्पण गरिरहने छ ।

कर्मठ गूगल जस्तो कम्पनीमा दशौं वर्ष काम गरेर अमेरिकामै स्थापित भइसक्नुभएको थियो । तर मनको इच्छा नेपालमै बसेर काम गरौं भन्ने रहेछ । नेपालकै आइटी इकोसिस्टमलाई योगदान दिन सकिन्छ भन्ने ठूलो सपना लिएर स्वदेश फर्कनुभएको थियो ।

व्यक्तिगत रुपमा मैले नजीकबाट उहाँलाई चिनेको सन् २०१३ देखि हो । भेट्दाखेरि नै उहाँलाई साधारण र स्पष्ट वक्ताको रुपमा पाएँ ।  व्यवहारमा शालीनता । आफूसँग कुरा गरेकाहरुको भावना निकै छिटो बुझ्ने । टेक्निकल मात्रै होइन, ननटेक्निकल व्यक्तिहरुसँग पनि सहजै जोडिन सक्ने हुनुहुन्थ्यो । विगतको ५÷६ वर्षमा त धेरै समयसँगै भयौं । धेरै काम मिलेर ग¥यौं । योबीचमा व्यवस्थापकीय हिसाबले पनि निकै राम्रो मान्छे पाएँ उहाँलाई । कुनै पनि समस्यालाई हल्का लिने र समाधान तुरुन्तै गरिहाल्ने बानी उहाँमा थियो ।

कर्मठ गूगल जस्तो कम्पनीमा दशौं वर्ष काम गरेर अमेरिकामै स्थापित भइसक्नुभएको थियो । तर मनको इच्छा नेपालमै बसेर काम गरौं भन्ने रहेछ । नेपालकै आइटी इकोसिस्टमलाई योगदान दिन सकिन्छ भन्ने ठूलो सपना लिएर स्वदेश फर्कनुभएको थियो । नेपाल आइसकेपछि आइटी कम्पनी सुरुवात गर्नुभयो । केही वर्षसम्म चलाउनुभयो र पछि क्राउड सोर्सिङ कम्पनी क्लाउड फ्याक्ट्री ज्वाइन गर्नुभयो । कम्पनी चलाउँदा वा काम गर्दा उहाँको विशेष जोड आइटीले नेपालको सामाजिक आर्थिक विकास गर्छ, यसलाई महत्व दिनुपर्छ भन्नेमै थियो ।

यहीकारण उहाँ युवालाई मोटिभेट गर्न हरबखत खटिरहनुहुन्थ्यो । युवाले बोलाएका हरेक कार्यक्रममा उहाँले कहिल्यै नाइ भन्नुभएन । पछिल्लो समय जनवरीमा फ्युज मेशिनमा काम थालनी गर्नुभयो । अझै यो क्षेत्रमा नयाँ जोश र जाँगरसहित आउँछु भनेर हामी साथीभाइसँग सरसल्लाह पनि गर्नुहुन्थ्यो । दुर्भाग्यवश यो अकल्पनीय घटना हुन पुग्यो ।

कलेजका विद्यार्थी, स्टार्टअप र केही गर्न चाहनेहरुका लागि कर्मठ एउटा ‘मोटिभेटर’ हुनुहुन्थ्यो । आइटीमा प्रोफेशनल करियर बनाउन चाहनेलाई सम्बोधन गर्न खोज्नुहुन्थ्यो ।

आइटीको विकासका लागि उहाँले सधैं भन्ने गर्नुहुन्थ्यो, ‘सम्वाद हुनुपर्यो’ । सम्वादका लागि कहीँ न कहीँबाट सुरुवात हुनुपर्छ । चाहे त्यो कलेजबाट होस्, चाहे अन्य फोरमबाट । कर्मठले यस्ता सम्वादमा आइटी सरोकारवालाबीचको सहकार्यमा  जोड दिनुहुन्थ्यो । कलेजका विद्यार्थी, स्टार्टअप र केही गर्न चाहनेहरुका लागि कर्मठ एउटा ‘मोटिभेटर’ हुनुहुन्थ्यो । आइटीमा प्रोफेशनल करियर बनाउन चाहनेलाई सम्बोधन गर्न खोज्नुहुन्थ्यो ।

युवाले के कुरा सिक्नुपर्छ, कसरी सीप बढाउनुपर्छ, यी विषयमा उहाँको सधैं चासो रहन्थ्यो । आइटी इकोसिस्टम बनाउने सन्दर्भमा नेपाल सरकारका धेरै पोलिसी बनाउन हामीले सँगै काम गरेका थियौं । नेपाल सरकार, क्यान महासंघका धेरै प्रोजेक्टमा हाम्रो सहकार्य भयो । योसँगै नेपाल आन्टरप्रेनर हब नामक संस्थाका ५ सहसंस्थापकमध्ये उहाँ एक हुनुहुन्थ्यो । उद्यमशीलताबाट देश र समाजलाई कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमा हाम्रो संस्थाले काम गर्छ । यो अभियानमा कर्मठको सक्रियता झनै बढेको थियो ।

उहासँग धेरै फोरममा सहकार्य गर्ने अवसर पाएँ । पछिल्लो समय सरकारले डिजिटल नेपालको कार्यक्रम ल्याउन लाग्दा उहाँमा धेरै उत्साह देखेको थिएँ । राज्यले आइटी क्षेत्रलाई प्राथमिकतामा राखेर योजना र कार्यक्रम ल्याउने हो भने धेरै काम थोरै समयमा हुने आशा थियो उहाँमा । आज उहाँको भौतिक शरीर हामीसामु छैन । तर, उहाँले देखेको सपना, देखाएको बाटो हामीसँगै छ ।

उहाँको भावना, सोच, विचारसँगै उहाँले हामीसँग गर्नु भएका कामका धेरै उदाहरण छन्, त्यो हामीसँगै छ । यसर्थ उहाँप्रतिको साँचो सम्मान जब सबै मिलेर यो उद्योगको मुहार फेर्छौं, तब हुने छ । यसो भएमा कर्मठ हाम्रा लागि, आइटी उद्योगका लागि अमर रहिरहनु हुनेछ ।