कीवर्डहरू -

आविष्कार केन्द्रमा बनेको बेबी वार्मरले अमेरिकामा जित्यो पिपुल्स च्वाइस अवार्ड

आविष्कार केन्द्रमा बनेको बेबी वार्मरले अमेरिकामा जित्यो पिपुल्स च्वाइस अवार्ड

राष्ट्रिय आविष्कार केन्द्रमा बनेको बायो मेडिकल उपकरणले अमेरिकामा पिपुल्स च्वाइस अवार्ड जितेको छ । केन्द्रमा बनेको ‘न्यानो नानी’ नाम दिइएको बेबी वार्मरले  पिपुल्स च्वाइस पुरस्कार जितेको हो ।

गत बर्षदेखि  अमेरिकाको नर्थइस्ट ओहियो मेडिकल युनिभर्सिटीसँग राष्ट्रिय आविष्कार केन्द्रले बायो-मेडिकल बिषयमा सहकार्य गरिरहेको छ । उक्त विश्वविद्यालयले बायो-मेडिकल उपकरणहरुको ईनोभेसन सम्बन्धि एउटा प्रदर्शनी राखेको थियो र आविष्कार केन्द्रलाई पनि निमन्त्रणा गरेको थियो ।

त्यसको लागि आविष्कार केन्द्रमा बनेको न्यानो नानी कोर्गोद्वारा प्रर्दशनीका लागि पठाईएको थियो । सो प्रदर्शनीमा भाग लिन र प्रदर्शनी पछि एक महिने तालिम पनि दिन भनेर विश्वविद्यालयले केन्द्रका तीन जना ईन्जिनियरलाई निमन्त्रणा गरेको थियो ।

तर विश्वविद्यालयले निम्ता गरेको भएपनि नेपालमा रहेको अमेरिकी दुताबासले उनीहरुलाई भिसा दिएन र उनीहरू उक्त प्रदर्शनीमा भाग लिन पाएनन् । अनततः ३ जना इन्जिनियरहरुले जुमबाटै भाग लिन बाध्य भएका थिए ।

सो प्रदर्शनीमा आविष्कार केन्द्रका संस्थापक महावीर पुन पनि पुगेका थिए । बेबी वार्मर बारे सो विश्वविद्यालयका विद्यार्थीहरुले अवलोकनकर्तालाई उपकरणको बारेमा बनाइएको पर्चाहरु बाँड्न मदत गरेको पुनले जानकारी दिए ।