कीवर्डहरू -

नवीन सोचका व्यवसायको प्रोत्साहन गरौं

नवीन सोचका व्यवसायको प्रोत्साहन गरौं

वर्तमान विश्व अर्थतन्त्र सूचना प्रविधिमा आधारित नवीन व्यावसायिक सोचमा निर्भर छ । आजका गूगल, एप्पल, माइक्रोसफ्ट, अमेजन, फेसबुकजस्ता प्रविधिका नामुद कम्पनी कुनै बेला निकै साना थिए । लगानी थोरै थियो, बजार सीमित थियो । आज यिनै कम्पनी विश्व अर्थतन्त्र बदल्ने ‘ड्राइभिङ फोर्स’ बनेका छन् । सफलताका कथापछाडि यी कम्पनीसँग नवीन र सिर्जनशील सोच थियो । त्यो सोचलाई व्यवसायमा बदल्ने अठोट थियो ।

सूचना प्रविधिमा आधारित उद्यमशीलताकै कुरा गर्ने हो भने नेपालमा पनि वर्षेनि नवीन सोचसहित व्यवसायमा हात हाल्ने उद्यमीहरुको संख्या बढिरहेको छ । कुनै आधिकारिक तथ्यांक नभए पनि १ सयको हाराहारीमा यस्ता उदाहरणीय व्यवसायी भएको अनुमान गरिन्छ । तर, यस्तो व्यवसायमा हात हाल्नेहरु चाँडै अन्यत्र पलायन भइरहेका छन् ।

मुख्यतः नवीन सोचमा आधारित व्यवसायले सुरुवाती चरणमा पर्याप्त कानूनी अड्चन, लगानीको समस्या, सीमित बजार आदि चुनौती भोगिरहेका छन् । सूचना प्रविधिमा आधारित यस्ता सिर्जनशील कामले विभिन्न एप, वेब र सफ्टवेयरमार्फत कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, यातायात, उर्जा आदि क्षेत्रको रुपान्तरण गर्न सक्छन् । तर, प्रविधिको विकास र परिवर्तनलाई हतोत्साहित गर्ने कार्य निरन्तर भइरहेको छ । यसले कसैको पनि उत्थान हुँदैन । यही क्षेत्रमा नवीन सोचका साथ आउन चाहने भावी पुस्तालाई पनि यसले रोक्ने गर्दछ । यो प्रवृत्तिले देश पक्कै उँभो लाग्दैन ।

नवीनतम प्रविधिको आविष्कार एवं उत्पादनमा नेपाली प्रतिभा योग्य छन् भन्ने प्रमाण बेलाबेला सावित हुँदै आएको छ । तर, उनीहरुका लागि उद्यमशीलताको वातावरण बन्न सकेको छैन । आइटी क्षेत्रकै कुरा गर्ने हो अधिकांश जनशक्ति आउटसोर्सिङकै काम गर्दै छन् । आउटसोर्सिङले तत्काल केहीलाई रोजगारी देला, तर देशको आइटी र उद्यमशीलताको विकासमा दिगो समाधान दिन सक्दैन । यसर्थ, प्रविधिको तीव्र विकास, आविष्कार र सफल प्रयोगहरुलाई सम्बोधन गर्न आवश्यक छ । विश्वमै प्रविधि पहिले र कानून पछि आएका उदाहरण छन् ।

यसअनुसार नेपालमा पनि समयानुकूल नीतिगत व्यवस्थामा सुधार र त्यसको उपयुक्त कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता छ । यसरी नवीनतम र सफल परीक्षण भएका प्रविधिसँग सम्बन्धित परियोजनालाई सम्भाव्यताका आधारमा नतिजा उन्मुख हुने शर्तमा विनाधितो सहुलियत ब्याजदरमा ऋण दिने, कर छुट दिने, बजार विस्तारमा सहजीकरण गरिदिने लगायतका काम हुने हो भन नवीन सोच छिट्टै सफल व्यवसायमा रुपान्तरण हुने थियो । त्यसैले, देशमै रोजगारीका सिर्जना गर्ने र हरेक क्षेत्रको उत्थान चाहने हो भने अब प्रविधिमा आधारित नयाँ सोच र उद्यमशीलताको खाँचो छ ।